Chauthoanga
लुम्विनी प्रदेशमा आज सभामुख र उपसभामुख चयन गर्ने कार्यसूची

दाङ - लुम्बिनी प्रदेश सभाको आज बस्ने तेस्रो बैठकबाट सभामुख र उपसभामुख चयन गरिने भएको छ । जसका लागी दिउँसो १ बजे प्रदेश सभाको बैठक राखिएको छ ।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयन हुन थालेको हो ।

आज सभामुख र उपसभामुख चयनको लागी लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको बैठकमा क्रमशः सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस भनी प्रस्तावक सदस्यहरूले प्रस्ताव गर्ने, समर्थक सदस्यहरुले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावहरू माथि संक्षिप्त छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । सभामुखको लागी एक जना र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ ।

सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोनयन दर्ता भएको हो । घर्ती नै लुम्बिनी प्रदेश सभाको सभामुख चयन हुने छन् । उनको सभामुखमा एकल उम्मेदवारी परेको छ । सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भुमेश्वर ढकाल छन् भने, राप्रपा संसदीय दलका नेता आशिष चौधरी समर्थक बसेका छन् ।

उपसभामुखमा सत्तारुढ दलको तर्फबाट राप्रपाकी मेनुका केसी खाँडको मनोनयन दर्ता भएको छ । उनको प्रस्तावकमा माओवादी नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टी संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् । यस्तै उपसभामुखमा नेपाली कांग्रेसका विश्वप्रेम पाठकको मनोनयन दर्ता भयो ।

पाठकको प्रस्तावकमा कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य वसीउद्दीन खाँ र प्रदेश सभा सदस्य राजु खनाल समर्थक छन् । यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूको मनोनयन दर्ता भएको छ । उनको को प्रस्तावकमा सचेतक नरमायाँ ढकाल र समर्थकमा संसदीय दलका नेता धर्मबहादुर चौधरी बसेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १०:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको