Chauthoanga - Nepali News Media
राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
1 (1).jpg

काठमाडौं-आज (मङ्गलबार) मन्त्रीमण्डल विस्तार भएको छ । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्नु भएको छ । उहाँले उर्जा तथा जलश्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

यसैगरी, संचार तथा सूचना प्रविधिमन्त्रीमा माओवादी नेत्री रेखा शर्मा नियुक्त हुनुभएको छ । यसैगरी, नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएको छ भने सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएको छ।

यसैगरी, नेकपा (एमाले)बाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त हुनुभएको छ । पौडेलले परराष्ट्र र गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधानले जिम्मेवारी पाउनुभएको छ भने राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बन्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी, रास्वपाकी तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बन्नुभएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको