Chauthoanga - Nepali News Media
लुम्विनी प्रदेशको सभामुख र उप–सभामुख निर्विरोध निर्वाचित 

दाङ - लुम्विनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मेनुका खाँण केसी निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुख घर्ती सोमबार नै निविरोध निर्वाचित हुनुभएको थियो भने भने उपसभामुखमा नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीले उम्मेद्वार दिएका थिए ।

नेपाली काँग्रेसका तर्फबाट विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति निर्मलादेवी चौधरीले उम्मेद्वारी रहेको थियो ।आज मध्याह्न पाठक र चौधरीले सत्ता गठबन्धन उम्मेद्वार खाँणलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएसँगै उपसभामुखमा खाँण निर्विरोध निर्वाचित हुनुभएको हो । पाठक र चौधरीले आज दिउसो प्रदेश सरकारलाई औपचारिक रुपमा पत्राचार गरी कार्यसुचीबाट आफ्नो नाम हटाएका थिए । 

यसैविच सरकारसँगैको सहकार्यका लागि नेपाली काँग्रेसले आफ्नो उम्मेद्वारी फिर्ता लिएको बताएको छ । सरकार बाहिर रहेको पहिलो ठूलो दल नेपाली काँग्रेस प्रदेशको समग्रका विकासका लागि सरकारसँगै सहकार्य गर्ने गरी आफ्नो उम्मेद्वारी फिर्ता लिएको नेपाली काँग्रेस लुम्विनी प्रदेश प्रवक्ता तथा प्रदेशसभा सदस्य प्रचण्ड बिक्रम न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘ सरकारसँगै सहकार्य गर्ने काँग्रेसले उम्मेद्वारी फिर्ता लिएको हो । यो हाम्रो पुरानो माया प्रेम पनि हो । ’ 

यस्तै लुम्विनी प्रदेश सरकारमा अहिले नेकपा एमाले , नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन सरकार बनेको छ । उपसभामुख उम्मेद्वारको बिषयमा नागरिक उन्मुक्ति पार्टीसँग सारसल्लाह नगरी उम्मेद्वार छनौट गर्दा नागरिक उन्मुक्ति पार्टीले उपसभामुख पदमा आफ्नो उम्मेद्वारी दिएको नागरिक उन्मुक्ति पार्टीका सासद राजकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो," सत्ता गठबन्धन दलहरुको ध्यानाकर्षण गराउने गरी हामीले उम्मेद्वारी दिएका हौं । तर दलहरुको आपसी छलफल पछि उम्मेद्वारी फिर्ता लिएको छौं ।’ सत्ता गठबन्धन दलहरुको आपसी छलफल बिना उम्मेद्वार छनौट गरेकाले त्यसको विपक्षका लागि उम्मेद्वारी दिएको उहाँको भनाई छ । तर सत्ता गठबन्धन दलहरुको छलफल पछि उक्त उम्मेद्वारी फिर्ता लिदै सत्ता गठबन्धनको साझा उम्मेद्वार समर्थन गरिएको उहाँले बताउनुभयो ।  
 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको