Chauthoanga - Nepali News Media
स्पाथानियतह निर्वाचन कालागि तयारी तीव्र : प्रदेश र जिल्ला तहमा काम अन्तिम चरणमा

काठमाण्डाै : स्थानिय तह निर्वाचनकालागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । चुनावको मत खसाल्ने मुख्य दिन आउन अब ६ दिन मात्रै बाँकी छ । स्थानियतह निर्वाचनका लागि आवश्यक मतपत्र ढुवानीको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।

७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगले मतपत्र छपाइ भएको ठाउँ भक्तपुरको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि मतपत्र ढुवानी गरी सुरक्षा प्रबन्धका साथ पठाएको हो ।

सडकमार्ग सहज नभएका जिल्लामा हवाई मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराएर चाँडै स्थानीय केन्द्रमा ढुवानी गर्ने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिनुभयो ।

निर्वाचन आयोगका प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई अन्तिम चरणमा पुर्याएका छन् । ती कार्यालयका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएको छ । कार्यालयहरूले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी अन्तिम चरणमा पुर्याएको जनाएका छन् ।

निर्वाचन सामग्री चाँडै मतदानस्थल र केन्द्रमा लगिनेछन् । सुरक्षाको प्रबन्ध, आचारसंहिता कार्यान्वयनको अनुगमन, नमुना मतदानको तयारीलगायतका काम भइरहेका छन् । प्रदेश निर्वाचन कार्यालयले प्रदेशका मुख्यालय भएका जिल्लाभरका निर्वाचन गतिविधिको नेतृत्व लिन्छन् भने जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित जिल्लाको जिम्मेवारी पाएका छन् । प्रदेश निर्वाचन कार्यालय रहेका ठाउँमा जिल्ला निर्वाचन कार्यालय राखिएको छैन। 

प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  ०७:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको