Chauthoanga - Nepali News Media
हात्तीपाइले रोग लागेपछि निको हुँदैन : राेग लाग्नुअघि नै ढुक्क भएर औषधि खान डाक्टरको सुझाव

दाङ – तराईं मधेशका जिल्लामा हात्तीपाइले रोगको जोखिम धेरै रहेको विज्ञले बताएका छन् । भारतको विहार, उत्तर प्रदेश, झारखण्ड तथा छत्तिसगढजस्ता राज्यमा हात्तीपाइले रोगका बिरामी भएकाले तराई मधेशका जिल्ला उच्च जोखिममा रहेको  विज्ञको भनाई छ ।

जोखिममा रहेका तराई मधेशसहितका १५ जिल्लामा सरकारले भोलिदेखि २५ गतेसम्म हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ । सरकारले ४८ जिल्लामा भने हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान बन्द गरेको छ । यस अघि चलाइएको औषधि खुवाउने अभियान ४८ जिल्लामा प्रभावकारी भएको र ती जिल्लामा जोखिम नरहेको महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले बताउनुभयो । उहाँका अनुसार हिमाली ८ जिल्ला सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, हुम्ला कालिकोट, मुगुमा हात्तिपाइले विरुद्धको औषधि खुवाउन अभियान सञ्चालन गर्न आवश्यक भए नभएको बारे अनुसन्धान हुँदैछ ।

विगतका वर्षमा हिमाली जिल्लामा हात्तीपाइले रोग नदेखिए पनि अहिले बिरामी भेटिन थालेकाले अनुसन्धान थालेको डाक्टर दासले जानकारी दिनुभयो । उहाँका अनुसार यी जिल्लामा हात्तीपाइलेको परजीवि भेटिए अभियान सुरु गरिनेछ । लक्षण नदेखिकाहरुमा पनि हात्तीपाइले रोग लागेको हुन सक्ने भएकाले अभियान चलाइएको बेलामा औषधि खान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासको सुझाव छ । भोलिदेखि अभियान सुरु हुने १५ जिल्लामा यस अघि १४ औँ पटकसम्म औषधि खुवाए पनि प्रभावकारी नदेखिएकाले फेरि अभियान चलाउन थालेको उहाँको भनाई छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि ६ पटकसम्म खाँदा हुन्छ । तर, धेरैजसोले हात्तीपाइलेको औषधि नखाने गर्दा समस्या भएको हो । यो औषधि खाएपछि स्वास्थ्य समस्या देखिने भ्रम छ । डाक्टरले केही व्यक्तिलाई ज्वरो आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधि खान सुझाव दिएका छन् । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधि खानु नहुने महाशाखाले जनाएको छ ।

हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ । यो रोग संक्रमित लामखुट्टेकाे टोकाइबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र खुट्टा र अण्डकोष सुन्निने जस्ता लक्षण देखिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार धेरैजसो संक्रमण लक्षण बिनाको हुन्छ । यसबाट समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना हुन्छ । 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०९:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको