Chauthoanga - Nepali News Media
आज दाङमा १३ औँ चरणको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु हुदै 

दाङ - दाङ सहित तराई,मधेशका १५ जिल्लामा आजबाट २५ गतेसम्म हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरुहुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दाङ, बाँके , पर्वत, बागलुङ, कपिलवस्तु ,कैलाली, झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा, रसुवा, र लमजुङ, जिल्लामा यो अभियान सुरु हुनेछ । 

दाङमा आजबाट १३ औँ चरणको हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन(एमडिए) अभियान सञ्चालन हुने भएको हो । दाङमा आम नागरिकले हात्तिपाईले विरुद्धको औषधी सेवन नगर्दा १३ औँ चरणको अभियान भोली बाट सुरुहुने भएको छ ।

दाङमा यस वर्ष छ लाख ८७ हजार सात सय ७७ लक्षित जनसंख्यालाई आम औषधि सेवन अभियानमा जोड्न लक्ष्य रहेको छ । अभियान संचालनका लागि छ सय ५९ जना स्वास्थ्यकर्मी र प्राविधिकसहित करिब सात सयजना परिचालन हुने छन् । दाङको तुलसीपुरमा सबैभन्दा बढी एक सय ६५ जना, घोराहीमा एक सय १० जना, राप्तीमा ६६ जना स्वास्थ्यकर्मी आम औषधि सेवन अभियानमा सहभागी हुने भएका छन् । यसैगरी, बंगलाचुलीमा ५०,लमहीमा ५७, बबईमा ४२, दंगीशरणमा ३८, , गढवामा ४८, राजपुरमा ४१ र शान्तिनगरमा ४२ जना स्वास्थ्यकर्मी परिचालन हुँदैछन् । 

हात्तीपाइले रोग जुनसुकै उमेर समूहका जोसुकैलाई लाग्न सक्ने र यो रोग लामखुट्टेको टोकाइका कारण एउटा मानिसबाट अर्को मानिसमा सर्ने भएकोले सबैले औषधि सेवन नगर्दासम्म निवारण हुन नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । हात्तीपाइले रोग मसिनो धागो आकारको परजीवीबाट लाग्छ । हात्तीपाइलेको परजीवी क्युलेक्स जातको लामखुट्टेले टोके शरीरभित्र प्रवेश गर्छ । यसका जीवाणुले लसिका प्रणालीमा असर गर्छ ।

हात्तीपाइले रोग परजीवीले सर्ने भएकाले रोग लागिसकेपछि यसको उपचार छैन । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन् । लक्षण देखिइसकेपछि भने रोग निको पार्न नसकिने कार्यक्रममा जानकारी गराइयो । हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपांग बनाउने एक सरुवा रोग भएकोले बेलैमा सचेत हुनुपर्ने स्वास्थ्य कार्यालय दाङका हात्तीपाइले फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुनका लागि रोगको जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा सबैले औषधि सेवन गर्नुपर्ने उहाँको भनाइ छ । 

हात्तीपाइले रोगबाट प्रभावित जिल्लामा बसोवास गरेका दुई वर्षमुनिका बालबालिका, गर्भवती, सिकिस्त बिरामी, छारेरोग लागेका, ७ दिनसम्मका सुत्केरी, कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकाबाहेक अरूले यो औषधि सेवन गर्नुपर्ने कार्यक्रममा जानकारी गराइयो । खाली पेटमा खान नहुने यो औषधि सेवन गरेपछि शरीरमा हात्तीपाइले रोगको परजीवी भएमा सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्ने स्वास्थ्य कर्मीहरुको भनाई छ ।  

दाङको बंगलाचुली गाउँपालिका सहित दाङका दशैवटा स्थानियतहमा हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन(एमडिए) अभियान सुरु हुने छ ।

बंगलाचुली गाउँपालिकाको ८ वटै वडाहरुमा फरक फरक दिनमा हात्तिपाईले विरुद्वको ‍औषधि खुवाउने

यता बंगलाचुली गाउँपालिकाको ८ वटै वडाहरुमा फरक फरक दिनमा हात्तिपाईले विरुद्वको ‍औषधि खुवाउने कार्यक्रम चल्ने बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्र कुमारी घर्तीले जानकारी दिनुभयो । औषधि खुवाउने अभियानका लागि सम्पूर्ण स्वाथ्यकर्मीहरु तयारी अवस्थामा रहनुभएको उहाँले बताउनुभयो ।

यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर (शुवास) ले बंगलाचुलीमा हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन(एमडिए) अभियान सफल पार्न सबैलाई अनुरोध गर्नुभएको छ । अध्यक्ष पुनले आम नागरिकको स्वास्थ्यमा गाउँपालिका सम्वेदनशिल रहेको र हात्तिपाईले रोग विरुद्धको ‍औषधि सेवन गर्ने अभियानलाई सफल पार्न वडाका जनप्रतिनिधि,स्वास्थ्यकर्मी, सम्पूर्ण आम नागरिक सबैलाई अनुरोध गर्नुभएको हो । 

बंगलाचुली गाउँपालिकामा यस वर्ष २३ हजार ४ सय ५८ जनालाई हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने लक्ष्य रहेको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ६ मा एकजना पुरुष तथा दुईजना महिलामा हात्तिपाईले रोगको संक्रमण देखिएको छ ।

के हो हात्तीपाइले रोग ?

हात्तीपाइले मानिसलाई शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपांगता बनाउने एक प्रकारको सर्ने रोग हो । यो रोग मसिनो धागो आकारको जुकाजस्तै फाइलेरिया नामक परजीवीको संक्रमणबाट हुने गर्छ । क्युलेक्स वा एनोफिलिस नामक पोथी लामखुट्टेले टोक्दा फाइलेरिया परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ जसबाट हात्तीपाइले रोग लाग्ने गर्छ । संक्रमित भएको केही वर्षपछि मात्र मानिसमा यसका लक्षण देखिन्छन् ।

लक्षण नदेखिने अवस्था

केही मानिसमा हात्तीपाइलेको संक्रमण भए पनि कुनै पनि किसिमको लक्षण देखिँदैन ।संक्रमित मानिसको रगत नमुना रातिको समयमा लिएर परीक्षण गर्दा परजीवी देखिन सक्छ । सुजन भएको (सुन्निएको) शरीरको अंगमा भिडियो एक्स रे गरेर हेर्दा लिम्फ भेसेल (पत्र वा जालो) फैलिएको तथा वयस्क जुकाका झुप्पा देखिन सक्छन् ।

लक्षण देखिने अवस्था

शरीरका अगंमा सुजन हुनु, सामान्य अवस्थामा सुजन भएको अंगमा थिच्दा वा दबाउँदा थिचिने खालको हुन्छ । तर, हात्तीपाइलेको संक्रमण बढ्दै जाँदा छाला बाक्लो हुँदै गएपछि नथिचिने खालको हुँदै जान्छ ।

• ठूलो खालको सुजन हुने ।

• छालामा पत्र–पत्र हुँदै जान्छ र गाँठागुँठी पलाउँछ ।

• सुन्निएको अंगमा मुसा पलाउन थाल्छ ।

• घाउ आउन थाल्छन् ।

हात्तीपाइले रोगबाट बच्ने तरिका

सरकारले रोगप्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने औषधि अभियानमा सहभागी भई वर्षको एकपटक लगातार २ वर्षसम्म हात्तीपाइलेको औषधि सेवन गर्नुपर्छ । हात्तीपाइले रोगबाट बच्न तिन किसिमका औषधिको प्रयोग गर्नुपर्छ । डाईइठाईल कार्बामाजिन ,अल्बेन्डाजोल र आईवरमेक्टिन, औषधिको प्रयोग गर्नुपर्छ । जुन पूर्ण रूपमा सुरक्षित छन् ।

औषधि कसले नखाने ?

• दुई वर्ष उमेर नपुगेका बच्चा ।

• गर्भवती तथा सात दिन नपुगेका सुत्केरी ।

• सिकिस्त बिरामी भएका तथा कडा रोग, जस्तोः क्यान्सरपीडित ।

• सिकिस्त विरामी तथा छारेरोगी , भएका पाँच वर्षमुनिका बालबालिकाले यो औषधि खानुहुँदैन ।

औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा

खाली पेटमा हात्तीपाइलेको औषधि सेवन गर्नुहुँदैन । शरीरमा हात्तीपाइलेको परजीवी भएका व्यक्तिमा औषधि सेवनपछि पनि सामान्य खालको टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन्छ । यी लक्षण देखिएमा औषधिले प्रभावकारी काम गरेको बुझ्नुपर्छ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको