Chauthoanga - Nepali News Media
चैतभित्रै सुरक्षण मुद्रण सुरु गर्न मन्त्री शर्माको निर्देशन

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्नुहुँदै मन्त्री शर्माले अर्थ मन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्तःशुल्क छाप्न निर्देशन दिनुभएको हो ।

एक चरणको परिणाम आयो भने बाँकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले जानकारी दिनुभयो । यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने पनि उहाँले बताउनुभयो ।

यो केन्द्रबाट सुरुमा अन्तःशुल्क स्टिकर, दोस्रो चरणमा राहदानी, राष्ट्रिय परिचयपत्र हुँदै केही समयपछि बैंक नोट छाप्ने योजना छ ।

केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले केन्द्र कागजमा आधारित मुद्रण गर्न सकिने अवस्थामा पुगेको जानकारी दिनुभयो । अब लगत्तै आवश्यक मुद्रण सामग्री ल्याउने र आवश्यक जनशक्तिलाई तालिम दिएर मुद्रण सुरु गर्ने मन्त्रालयको तयारी छ ।

प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत नेपालबाट  बाहिरिने वार्षिक रु. १० अर्ब जोगिने सरकारको अपेक्षा छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको