Chauthoanga - Nepali News Media
घोराहीमा देउवा र प्रचण्डको सम्बोधन :स्थानीय तह निर्वाचन अग्रमगन र प्रतिगमन विचको लडाई भएको भनाई 

दाङ : पाँच दलिय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनलाई लक्षित गरि दाङको घोराही र तुलसीपुरमा बृहत चुनावी सभा गरेका छन् । सभालाई नेपाली कांग्रेसका सभापती एवं प्रधानमन्त्री सेरबहादुर देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नुभएको छ ।

घोराही शहिद मञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धनले जिते मात्रै विश्वासको बाताबरण बन्ने बताउनुभयो । आज स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले जित्न सके मात्रै भोलीको निर्वाचनमा समेत सुरक्षित हुने बताउनुभयो । गठबन्धनलाई टिकाउने र चुनाब जित्न सके देशको विकास हुने धारणा राख्नुभयो । राष्ट्रिय आबस्यकताले गठबन्धन बनेको भन्दै उहाँले केपी शर्मा ओलीको कर्मले देश बचाउन आफुहरु एक ढिक्का भएको उल्लेख गर्नुभयो । ओली एक तन्त्रिय शासन चलाउन खोज्ने व्यक्ति भएको तर त्यो सफल हुन नदिने उहाँको भनाई थियो ।

संघिय लोकतान्त्रिक गणतन्त्र सँगै अहिलेको परिबर्तन माओबादीकै कारणले आएको समेत देउवा भन्नुभयो । उहाँले सो परिवर्तनलाई सार्थक निष्कर्षमा पुराउनका लागि नेपाली काग्रेसले हिजोका दिन देखि माओबादी संग सहकार्य गर्दै आएको बताउनुभयो ।

पाँच दलिय गठबन्धनले आज दाङको घोराहीमा आयोजनागरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले तत्कालिन स्वर्गिय नेता गिरजा प्रसाद कोईराला देखि यो संस्कारको सुरुवात भएको भन्दै विभिन्न चरणका आन्दोलनबाट प्राप्त उलब्धिको रक्षा गर्नु अहिलेको दायित्वरहको बताउनुभयो ।अहिलेको गठबन्धनलाई सफल पार्नु सबैको कर्तव्य भएको उहाँको भनाई थियो । उहाँले गठबन्धन बचाउन एउटा पालिकामा मात्रै नभएर सबै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरु विजयी हुन जरुरी रहेको बताउनुभयो ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले राजाबादीहरु सँग साँठगाँठ गरेर देशलाई अस्थितरता र प्रतिगमनको बाटोमा लग्न खोजेकाले गठबन्धनलाई जिताउनु पर्नेमा उहाँको जोड छ ।  

त्यसैगरी, कार्यक्रममा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन ऐतिहासिक जनमत संग्रह भएको बताउनुभएको छ । प्रचण्डले स्थानीय तह निर्वाचन पनि अग्रमगन र प्रतिगमन विचको लडाई भएको बताउनुभयो ।  पाँच दलिय गठबन्धनले आज दाङको घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुहरुको पाँच दलित सत्ता गठबन्धन अग्रगमन र नेकपा एमाले सहित राप्रपाले गरेको गठबन्धनलाई प्रतिगमनको संज्ञा दिनुभयो ।

एमाले सहितका गठबन्धनले चुनाब जिते देश अस्थिरता तर्फ जाने भएकाले विकास, संबृद्धी, लोकतन्त्र, गणतन्त्र एवं राष्ट्रियतालाई जोगाई राख्न पनि सत्ता गठबन्धनले चुनाब जित्नै पर्ने बताउनुभयो । प्रतिगामी षडयन्त्रलाई परास्त गर्न यो गठबन्धन बनेको भन्दै राजनीतिक स्थितरता, विकास र संबृद्धीका लागि अझै यो गठबन्धन केही बर्ष सम्म निरन्तर जाने बताउनुभयो  । लोकतन्त्र र गणतन्त्र बचाउन केही दशक यो गठबन्धन कायमै रहने उहाँको दावी छ ।

यो गठबन्धन ठूलो प्रतिगामी षडयन्त्रलाई निस्तेज पार्न जन्मिएको भन्दै आगामी अन्य चुनाब सँगै केही दशक एउटै मोर्चामा रहन आबस्यक रहेको बताउनुभयो ।  साथै उहाँले गठबन्धन पराजित भए देश दुर्घटनामा जान्छ भनेको तर मिडियोले छोरीले हारे देश दुर्घटनामा जान्छ भनेर थर्कायो भनेर गलत प्रचार गरेको टिप्पणी गर्नुभयो । अर्को तर्फ उहाँले एक पार्टीले अर्को पार्टीको चुनाब चिन्हमा भोट हाल्न निकै गाह्रो पनि देखिएको बताउनुभयो । तर देशको विकास, जनताको अधिकार र गणतन्त्रको रक्षाका लागि तालमेल अनुसार नै भोट हाल्नेमा विश्वस्त रहेको बताउनुभयो ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको