Chauthoanga - Nepali News Media
मानिसहरुले  एकअर्काको जुठो खाँदा के हुन्छ ?
Screenshot_1.png

सामान्यतः हामी मन मिल्ने हितैषी खानेकुरा खाँदा एकअर्काको जुठोको पर्वाह गर्दैनौं । एउटै थाल वा भागको खानेकुरा सराबरी खाइदिन्छौं ।

प्रेमी-प्रेमिका हुन् वा श्रीमान्-श्रीमती, एकअर्काको जुठो खानमा असहज होइन अरु बढी आत्मीय अनुभव गर्छन् । साथी-साथी, आमाबुवा र छोराछोरी प्रायः एकअर्काको जुठो खाइरहेका हुन्छन् ।

एकअर्काको जुठो खान मिल्छ ?

एक जनाले खाएको खानेकुरा अर्कोले पनि सोही भागबाट खाँदा त्यो खानामा थुक धेरैथोरै मिसिएको हुन्छ । साथै सँगै खाएका साथीसँग गिजाको समस्या वा गिजामा रगत देखिने समस्या छ भने खानामा पनि त्यो रगत मिसिन जान्छ ।

त्यसकारण हामीले थाहा नपाई अरुको थुक र रगत खान सक्छौं । त्यसबाट हामीलाई पनि रोग सर्न सक्छ ।

खानेकुरा कसरी जुठो हुन्छ ?

यसरी खायो भने जुठो हुन्छ भन्ने हुदैन । एकै प्लेटमा राखेर धेरै व्यक्तिले खाएका छन् भने त्यो जुठो हुन्छ । त्यसमा चम्चा प्रयोग गरेको होस् वा हात । किनभने हामीले चम्चाले वा हातले खाँदा पनि खानामा मुखको थुक टाँसिएको हुन्छ ।

यसलाई धेरै जुठो कम जुठो भन्ने चाहिं हुदैन । यदि सिभियर रोग अर्थात् सरुवा रोग जस्तै, हेपाटाइटिस बी कुनै एक व्यक्तिमा छ भने थोरै थुकले पनि त्यो रोग सर्न सक्छ । चिप्स, नपकाएका चाउचाउ एउटै थालमा खाँदा भने रोग सर्ने सम्भावना अलि कम नै हुन्छ ।

श्रीमान-श्रीमतीबीचको जुठो 

जब श्रीमान् र श्रीमतीले जुठो खान्छन्, यसमा चाहिं दुवै जनाको ओरल हेल्थ कस्तो छ त्यसमा भर पर्छ । पहिले हाम्रो समाजमा श्रीमानले खाएको थालमा नै हालेर श्रीमतीले खाने चलन थियो । त्यसले आत्मीयता दर्शाउँछ, अनि एक किसिमले दुई जनाबीच इम्युनिटी बनडिङ (रोगसँग लड्ने क्षमता) विकास भइसकेको हुन्छ । अर्थात् त्यो प्रक्रिया सधैं भइरहने भए प्रतिरोधात्मक क्षमता पनि विकास भइसकेको हुन्छ भन्ने हो । तर रुघाखोकी लगायतका संक्रामक रोग लागिरहेको छ भने जुठो नखाएकै बेस हुन्छ ।

कस्तो रोग लाग्दा जुठो खानुहुँदैन ?

मुखसम्बन्धी रोग लागेको बेला एकअर्काको जुठो नखानु नै उचित हुन्छ । हेपाटाइटिस बी, रुघाखोकी, मुखमा घाउ, मुखको छेउछाउमा बिमिरा जस्तो घाउ र सास गन्हाउने समस्या छ भएका व्यक्तिको जुठो खानुहुँदैन । ज्वरो आएको बेलामा पनि जुठो नखुवाउँदा वा नखाँदा राम्रो हुन्छ ।

मुखमा धेरै क्याभिटी भएका व्यक्तिहरुको जुठो खानु भनेको चाहिं हामीले रोग निम्त्याएको जस्तो हो । आमाबुवाले बालबच्चालाई आफ्नो जुठो खुवाउने गर्छन्, जुन ठीक होइन । आमाबुवाको मुखमा समस्या छ भने त्यो छोराछोरीमा सजिलै सर्छ ।

जुठो खानै हुन्न त ?

जुठो खाँदै नखानु भन्ने पनि होइन कतिपय अवस्थामा परिवारका सदस्यबीच जुठो खाँदा शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि भूमिका खेल्छ । तर आमाबुवामध्ये कसैलाई दाँतमा प्वाल पर्ने अर्थात् क्याभिटीको समस्या छ भने जुठो खाँदा छोराछोरीमा पनि सर्न सक्छ । जसकारण दाँतमा कीरा लाग्ने, गिजाको समस्या हुन सक्छ । सामान्य अवस्थामा परिवारका सदस्यको जुठो खाएपनि अन्य व्यक्तिको भने नखाएकै राम्रो हुन्छ ।

(डा. अधिकारी दन्त चिकित्सक हुनुहुन्छ  । उहाँ प्रिमियर डेन्टल क्लिनिकमा कार्यरत हुनुहुन्छ ।)अनलाईनखबरबाट

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको