Chauthoanga - Nepali News Media
विद्यालयबाट फर्कँदा बालकको मृत्यु

रुकुम - रुकुम पश्चिममा एक बालकको ढुङ्गाले लागेर मृत्यु भएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ११ गोइरी निवासी महेन्द्र परियारका ९ वर्षीय छोरा दीप रोशन परियारको बिहीबार बेलुका मृत्यु भएको हो । 

विद्यालयबाट फर्कँदै गर्दा ढुङ्गाले लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार बालक परियारलाई विद्यालयबाट फर्कने बेला गोइरी भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेको थियो । करिब ६०-७० मिटर माथिबाट आएको ढुङ्गा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको डिएसपी भट्टराईले जानकारी दिनुभयो । 

परियार स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए । घटनास्थल बालकको घरभन्दा करिब तीन सय मिटरको दुरीमा रहेको छ । ढुङ्गा के, कसरी खस्यो भन्ने कुरा नखुलेको र अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको