Chauthoanga - Nepali News Media
भारतबाट फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेपछि नाकामा कडाइ

नेपालगञ्ज- रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ । गत केही दिनयता भारतबाट फर्किनेहरूमा दैनिकजसो कोभिड सङ्क्रमित फेला पर्न थालेपछि कोरोना परीक्षण बढाउनुका साथै आउनेहरूमाथि कडा निगरानी थालिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । 

हाल आएर दैनिकजसो कोभिडका बिरामी नाकामा फेला परिरहेकाले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्नुका साथै नेपाल आउनेहरूलाई विशेष रूपमा सोधपुछ गर्ने तथा स्वास्थ्य अवस्थाको जानकारी लिने काम भइरहेको जमुनाहा प्रहरीका प्रहरी निरीक्षक दामु पुनले बताउनुभयो । 

बाँकेमा गत केही महिना यता कोभिडका बिरामीहरू फेला परेका थिएनन् । तर, हाल आएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ । नाकामा परीक्षण गर्दा सङ्क्रमित भेटिन थालेपछि नाकामा कडाइ गरेर परीक्षणलाई बढाइएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो । 

उहाँले पछिल्लो समयमा जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किने शङ्कास्पदहरूको कोभिड परीक्षण गर्दा सङ्क्रमितहरू भेटिने क्रम बढ्दै गएको बताउनुभयो । 

चैतको महिनामा मात्र हालसम्म जमुनाहा नाकामा २१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएकाले उनीहरूबाट अन्यमा पनि सङ्क्रमण फैलिने सम्भावना रहेको हुँदा नाकामा कडाइ गरिएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ । 

नाकामा परीक्षण गर्दा सङ्क्रमण देखिएकाहरूमा सामान्य रुघाखोकी बाहेक अन्य जटिल लक्षण नदेखिएको जमुनाहास्थित हेल्थ डेस्कले जनाएको छ । सङ्क्रमण पुष्टि भएका सबैलाई नाकाबाटै सोझै सम्बन्धित जिल्लाका स्थानीय तहसँगको समन्वयमा होम आइसोलेसन बस्ने गरी घर पठाइएको छ । 

भारतबाट फर्किनेहरूमाथि निगरानी बढाउने र शङ्कास्पद सबैको परीक्षण गरेर मात्र छिर्न दिने व्यवस्था मिलाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

फेरि कोभिड सङ्क्रमण बढ्न थालेपछि सबैलाई स्वास्थ्य मापदण्डको नियमित पालना गर्न स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको