Chauthoanga - Nepali News Media
दैनिक गुजारा चलाउन ज्यानको जोखिम मोल्दै मज्दुर


कमिरेचौरः नेपालबाट घरपरिवारको गुजारा चलाउन दैनिक वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेको छ । दाङको बंगलाचुली गाउपालिकाबाट पनि दैनिक जसो मानिसहरू भारत लगायत तेस्रो मुलुकमा जाने गर्दछन ।   तर दाङको बंगलाचुली गाउपालीका वडा नं ४ निवासी मीन बहादुर घर्तीको कहानी फरक छ । दाङ जिल्लाको विकट गाउपालिका बंगलाचुली गाउँपालिका वडा नम्बर ३ को चुरे वन क्षेत्रमा एउटा कोइला खानि छ । टाउकोमा लाइट अनुहार भरि कालो कोइलाको दाग , हातमा गैटि । मीन बहादुर घर्तीको समय आजभोलि  आफ्नो घरखर्च चलाउन को लागि बिहानै देखि साझ रात नपर्दा सम्म कोइलाखानिको सुरुङभित्रै  बित्ने गर्दछ । उहाँले  बिगत २१ बर्ष देखि कोइला खानीमा काम गर्दै आउनुभएको छ । उहाँले कोइलाको सुरुङमै काम गरेर घर खर्च चलाउदै आउनुभएको छ । घरखर्च मात्रै हैन आफ्नो ११ बर्षको छोरालाई पढाउदै आएको बताउनुहुन्छ ।  "पढाइ लेखाइ छैन । अरु जागिर जस्तो भाको भए मेरो अवकाश  हुने बेला भयो तर यस्तो काममा त्यो हुने रैनछ । " उहाले भन्नुभयो " के गर्नु ज्यानको जोखिम त छ तर घरपरिवारको गुजारा चलाउनै पर्यो , छोरालाई पढाउनै परो। " उहाँले मेहनत गरेअनुसार कम्पनीले पारिश्रमिक दिनुपर्ने   बताउनुभयो ।। 

यस्तै कथा उहाको मात्रै होइन बंगलाचुली गाउँपालिका वडा नम्बर ४ कै सुब्बा राईको पनि उस्तै छ । उहाँ भने करिब २ बर्ष देखि कोइलाको सुरुङमा काम गर्न सुरु गरेको बताउनुहुन्छ । उहाँको ५ जनाको परिवार हुनुहुन्छ । र उहाँ ले बर्षको करिव ६ महिना यहि कोइलाको सुरुङमै काम गर्नुहुन्छ  भने बाँकी अरु ६ महिना गाउघरमै अन्य काम गर्नुहुन्छ । "बर्षको ६ महिना सिजनमा यहि कोइलाको सुरुङमै काम गर्छु । बाँकी अरु ६ महिना गाउँघरमै काम गर्छु ।"  उहाँले भन्नुभयो । 

जमिन देखि करिब ३० देखि ५० मिटर भित्र गएर उहाँहरूले कोइला निकाल्दै आउनु भएको छ । उक्त खानिमा काम गर्ने मज्दुरहरुले मासिक ३० देखि ७० हजार सम्म आम्दानी गर्ने गरेको खानिका इन्चार्ज दामोदर खड्काले जानकारी दिनुभयो । 

खानिमा काम गर्ने अरु ३ जना व्यक्ति हुनुहुन्छ । उहाँहरुको कहानी मिनबहादुर घर्ती र सुब्बा राईको  भन्दा अलि फरक छ । बंगलाचुली गाउपालिका वडा नम्बर ५ बसईका डाम बहादुर घर्ती, बंगलाचुली गाउपालिका वडा नम्बर ३ का मीन बहादुर नेपाली र उहाँकी छोरी जिबा नेपालीले सुरुङ देखि बाहिर रहेर काम गर्ने गर्नुहुन्छ । उहाँहरु पनि सिजनमा ६ महिना कोइलामै काम गर्नुहुन्छ भने अरु ६ महिना गाउँघरमै अन्य काम गर्नुहुन्छ । " पहिले पढिएन पढाइ नभएपछि यस्तो काम गर्नुपर्ने रैछ।" मीन बहादुर नेपालीले भन्नुभयो ।

उक्त खानिमा करिब १० देखि १५ जनाले रोजगारी पाइरहेको इन्चार्ज खड्काले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको