Chauthoanga - Nepali News Media
नेपालले ओमानलाई ८४ रनले हरायाेः सन्दीपको  नयाँ कीर्तिमान

काठमाण्डाै – एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा नेपालले ओमानलाई ८४ रनले हरायाे ।

नेपालले दिएकाे तीन सय ११ रनकाे विशाल लक्ष्य पछ्याएकाे ओमानले ४६ ओभर ३ बलमा दुई सय २६ रनमात्र बनाउन सक्याे । ओमानका लागि माेहम्मद नदीमले ६५ र सन्दीप गाेदले ४६ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले तीन/तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए । 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १० रन बनायाे । नेपालका लागि कुशल मल्लले शतक बनाए । उनले ६४ बल खेल्दै १० छक्का र नाै चाैकाकाे मद्दतमा एक सय आठ रन जाेडे । यस्तै साेमपाल कामीले नटआउट ६३ र करण केसीले नटआउट २९ रन बनाए । ओमानका आयन खानले दुई विकेट लिए । 

याे जितसँगै समूह 'ए' मा रहेकाे नेपालले दुई खेलमा चार अङ्क जाेडेकाे छ । नेपाल तालिकाकाे शीर्ष स्थानमा यथावत् छ ।

एसीसी प्रिमियर कपको समूह 'ए' मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको