Chauthoanga - Nepali News Media
नेपालले ओमानलाई ८४ रनले हरायोः सन्दीपको नयाँ कीर्तिमान

काठमाण्डौः एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । आज शुक्रवार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो । नेपालले दिएको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको ओमानले ४६ ओभर ३ बलमा दुई सय २६ रनमात्र बनाउन सक्यो । ओमानका लागि मोहम्मद नदीमले ६५ र सन्दीप गोदले ४६ रन बनाए । नेपालका सन्दीप लामिछाने ३ विकेट लिए । यस खेलसँगै सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गर्नुभएको छ । ओमानविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीयमा सर्वाधिक छिटो समयमा सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान रच्नुभएको हो । 

उहाँले ४२ एक दिवसीय खेल्दै एक सय दुई विकेटको आँकडा पूरा गर्नुभएको हो । यसअघि एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेल खेल्दै सय विकेट लिने खेलाडीको कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो ।

यस्तै करण केसीले पनि तीन  विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १० रन बनायो । नेपालका लागि कुशल मल्लले शतक बनाए । उनले ६४ बल खेल्दै १० छक्का र नौ चौकाको मद्दतमा एक सय आठ रन जोडे । यस्तै सोमपाल कामीले नटआउट ६३ र करण केसीले नटआउट २९ रन बनाए । ओमानका आयन खानले दुई विकेट लिए । यो जितसँगै समूह 'ए' मा रहेको नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

एसीसी प्रिमियर कपको समूह 'ए' मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको