Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशमा पानीजन्य विपत्को प्रतिकार्य एकीकृतरुपमा गरिने

दाङ - लुम्बिनी प्रदेशमा पानीजन्य विपत्को प्रतिकार्य एकीकृतरुपमा गरिने भएको छ । तीनवटै सुरक्षा निकायले एकीकृतरुपमा पानीजन्य विपत्को प्रतिकार्य गर्ने भएका हुन् । जसका लागि संयुक्त योजना बनाउन थालिएको छ ।

मनसुन भित्रिएसँगै लुम्बिनी प्रदेशमा पानीजन्य विपत्को प्रतिकार्य एकीकृत रुपमा गर्ने योजना बनाउन थालिएको हो । लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले तीनवटै सुरक्षा निकायलाई एकीकृत रुपमा प्रतिकार्य योजना बनाउन सहयोग गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी एकीकृत प्रतिकार्यको योजना बनाउन जुटेका हुन् । एकीकृतरुपमा परिचालन हुँदा खोज तथा उद्धारदेखि विपत् प्रतिकार्यमा उपलब्धि हासिल हुने देखिएको हो । मनसुनजन्य विपत्ले हरेक वर्ष दुःख दिइरहेको र यसबाट हुने क्षति कम गर्न सबै निकायको बीचमा सहकार्य आवश्यक रहेको नेपाली सेनाका सहायक रथी तथा विपत् व्यवस्थापन निर्देशक रविन्द्र खत्रीले बताउनुभयो ।

‘केन्द्रमा राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणले योजना पनि बनाएको छ । सुरक्षा निकाय र स्वयंसेवकलाई समेटेर जोखिममा रहेका क्षेत्रको पहिचान गरेर प्रतिकार्य योजना बनाइएको छ । त्यस्तै प्रदेश र स्थानीय तहमा पनि प्रतिकार्य योजना बनाइएका छन् । सबै निकाय तयारी हालतमा छन् । स्रोत साधनको कमी भए पनि सूचना प्रणाली र तयारी राम्रो भयो भने विपत्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।’

प्रदेशका १२ वटै जिल्लामा आइपर्ने पानीजन्य विपत्सहित जुनसुकै विपत्को सामना एकीकृतरुपमा गर्ने तयारी गरिएको हो । हरेक जिल्लामा कम्तिमा पनि तालिमप्राप्त तीन सयबढी सुरक्षाकर्मी रहेका छन् । सुरक्षाकर्मीसहित तालिमप्राप्त रेडक्रस स्वयंसेवक समेत परिचालित हुनेगरी योजना बनाइएको छ । यसका साथै समुदायका नागरिकलाई पनि विपत् प्रतिकार्यमा जोड्ने योजना छ । तीनवटै सुरक्षा निकाय जुनैसुकै विपत् प्रतिकार्यको लागि तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

‘हाम्रा सबै युनिटहरु उच्च सतर्ककताका साथ तयारी अवस्थामा छन् । पानीजन्य विपत् मात्रै होइन, अन्य विपत्बाट हुने क्षति कम गर्न तयारी अवस्थामा रहेका छौं’– डिएसपी गौतमले भन्नुभयो– ‘विपत् न्यूनीकरण एक्लो प्रयासले मात्रै सम्भव हुँदैन । यसमा सबै निकाय बीचको समन्वय र सहकार्यको खाँचो पर्छ । नेपाल प्रहरी एक्लैले भन्दा पनि हामी तीनवटै सुरक्षा निकायबीचको एकीकृत अभ्यासले विपत्बाट हुने क्षति कम गर्न सक्छौं ।’

दाङसहित बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी बाढीको जोखिममा छन् भने रोल्पा, रुकुम पूर्व, प्युठान, अर्घाखाँची, पाल्पा, गुल्मी पहिरोको जोखिममा छन् । विपत्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने भएकाले जोखिमको बेलामा सबै सतर्क रहन सरकारको आग्रह छ । लुम्बिनी प्रदेशमा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले विपत्सँग जोडिएका कार्यमा एकीकृत अभ्यास हातेमालो अभियान सञ्चालन गरेको छ । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले विपत् जोखिम न्यूनीकरण सामूहिक प्रयासबाट गर्न सकिने बताउनुभयो । ‘विपत् नआएको राम्रो, आइहाल्यो भने त्यसबाट हुने जनधनको क्षति ठूलो हुन्छ । क्षति कम गर्न सामूहिक प्रयासको खाँचो पर्छ’–उहाँले भन्नुभयो– ‘प्रदेश भित्र विपत्बाट हुने क्षति कम गर्न सबै निकायबीच सहकार्य जरुरी छ ।’

लुम्बिनी प्रदेशमा बितेको ११ वर्षमा मात्रै पानीजन्य विपत्का कारण दुई सय १७ जना मानिसको मृत्यु भएको छ । ३८ जना घाइते र ९७ जना वेपत्ता भएका छन् । तसर्थ पानीजन्य विपत्बाट हुने क्षति न्यूनीकरण गर्न सबै निकाय परिचालन हुनु आवश्यक छ ।

अभ्यास हातेमालो अभियान

लुम्बिनी प्रदेश सरकारको संयोजनमा प्रदेशभित्र रहेका सरोकारवाला निकायहरुको सहभागितामा विपत् व्यवस्थापन सम्बन्धी एकीकृत अभ्यास हातेमालो अभियान सञ्चालन गरिएको छ । अभ्यास हातेमालो अभियानमा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, नेपाली सेनाको मध्यपश्चिम पृतना हेटक्वाटर, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्दाबासिनी बाहिनी, सरकारी गैरसरकारी तथा मानवीय संस्थाहरु, नागरिक समाजलगायतको सहभागिता छ । अभियानको क्रममा विपत् विज्ञहरुबाट व्यवस्थापनसम्बन्धी प्रशिक्षण, विपत्सम्बन्धी टेवल टक्ल एक्ससाइज, विपत् प्रतिकार्य सम्बन्धी नमूना अभ्यास, विपत् व्यवस्थापन सम्बन्धी क्षमता प्रदर्शनी गरिनेछ । नयाँयुगबोध दैनिकबाट 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको