Chauthoanga - Nepali News Media
महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ : करुणा कुँवर
yon.jpg

हिजोआज नेपाली दम्पतीहरू यौन विचलनका कारण सम्बन्धविच्छेदको अवस्थासम्म पुग्ने गरेका छन् । दम्पतीमा हुने गलत बुझाइ वा यौनमा हुने असन्तुष्टिको कारणले पनि धेरै दम्पतीको विग्रह भएको देखिन्छ । यही यौनको जीवन र यसले निम्त्याउने समस्याको बारेमा मनोविद् करुणा कुँवर विष्टसँग गरेको कुराकानीको सम्पादित अंश :

मान्छेको यौन रूचिमा मौसमको कुनै प्रभाव हुन्छ कि हुँदैन ? अर्थात्, जाडो महिना र गर्मी महिनाले यौन इच्छामा कुनै परिवर्तन हुन्छ कि हुँदैन ?

अवश्य पनि हुन्छ । मान्छेको यौन व्यवहारलाई मौसमले असर गर्छ । मान्छेको यौन आकांक्षालाई भौगोलिक अवस्था र वातावरणले निर्देशित गरेको हुन्छ । विभिन्न अध्ययनले देखाएको छ कि हरदम चिसो भइरहने, पानी परिरहने ठाउँमा पुग्दा मान्छेमा यौनको मुड चल्छ । नेपालको भौगोलिक अवस्थाले पनि फरक फरक वातावरणमा भिन्दाभिन्दै खाले यौनइच्छा जागृत गराउने गर्छ । लामो समय बादल लागिरहने र पानी परिरहने ठाउँमा पनि यौन इच्छा बढी जागृत हुन्छ ।

जनावरको यौन व्यवहार हेर्दा उनीहरू कुनै निश्चित समयमा मात्र यौन भोग गर्छन्, त्यस्तो मान्छेमा पनि हुन्छ ?

जनावरमा जस्तै निश्चित समयमा मात्रै यौन भोगको इच्छा मान्छेमा हुँदैन । मान्छेमध्ये पनि पुरुषहरूमा प्राकृतिक रूपमा सधैंभरि यौन इच्छा जागृत हुन्छ । तर, महिलाहरूमा महिनावारी भएपछि १५ दिनसम्म बढी यौन इच्छा जाग्छ । महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक–फरक हुन सक्छ ।

नेपाली दम्पती आफ्ना यौन जीवनबाट कति सन्तुष्ट होलान् ? यसबारे कुनै खोज अध्ययन भएको छ ?

व्यवस्थित रुपमा त्यस्तो खोजी भएको त छैन । तर विभिन्न मनोवैज्ञानिक समस्या लिएर आउनेहरुले सुनाएको समस्यालाई विश्लेषण गर्दा गलत बुझाइ र अलिअलि यौन असन्तुष्टि भेटिए पनि त्यसको स्थिति धेरै भने छैन । सामाजिक सांस्कृतिक कारणले गर्दा यौनमा पूर्ण सन्तुष्टि लिन नसकेका कुरा आए पनि एक अर्काको कारणले यौन असन्तुष्टि भएको घटना भने धेरै छैन ।

प्रायः नेपाली दम्पतीको कलह शयन कक्ष अर्थात् ओछ्यानबाट हुन्छ भनिन्छ, के यो सत्य हो ?

यो सत्य हो । तर सबै कलहलाई यौनसँग त जोड्न नसकिएला । दुई जनाको व्यवहार बारे हुने बुझाइ, एक अर्काेको सोच र रोजाइ आदिमा हुने फरकपन पनि कलहको कारण बन्ने गर्छ । मनोवैज्ञानिक परामर्शको लागि आउने महिलाहरुमध्ये कतिपयले आफ्नो घरायसी कलहको कारण अरू बताए पनि गहिरिएर कुरा गर्दै जाँदा यसको कारणमा कतै न कतै यौन जोडिएको पाइन्छ । महिलाको र पुरुषको बीचमा यौनका बारेमा बुझाइ फरक हुन्छ । त्यही फरकपनाले समस्या बढाउँछ ।

अक्सर महिलाहरू यौनका लागि अग्रसर हुँदैनन् र आफ्नो इच्छा पनि जाहेर गर्दैनन् । तुलनात्मक रूपमा पुरुष सरह उनीहरूमा यौन रूचि हुँदैन ?

महिलामा यौन रूचि कम हुन्छ भन्ने त होइन । यो मान्छेपिच्छे फरक हुने कुरा हो । हरेक व्यवहारहरु पुरुष र महिलामा यस्तै पाइन्छ भन्ने हुँदैन । जुन मान्छे अनुसार व्यवहार फरक हुने गर्छ । जुनसुकै मान्छेको पनि सानैदेखि मौलिक बुझाइ शैली हुन्छ । त्यही शैलीले पनि यौन रुचि कस्तो हुने भन्ने निर्धारण हुन्छ ।

कतिपय विवाहित पुरुषहरु एक्स्ट्रा म्यारिटल अफेयरमा हुन्छन्, के उनीहरु आफ्ना श्रीमतीबाट सन्तुष्ट भएका हुँदैनन् होला ?

यस्तो होइन, एक्स्ट्रा म्यारिटल अफेयरमा लागेका सबै केटाहरु यौनका कारण नै अरू महिलासँग आकर्षित हुन्छन् भन्न मिल्दैन । यसमा केटामान्छेले आफ्नी श्रीमतीबाट कस्तो व्यवहार खोजीरहेको छ त्यो श्रीमतीबाट नपाएर पनि अर्की महिलासँग नजिकिएको हुन सक्छ । भावनात्मक सम्बन्ध होस् या अरू आवश्यकता पूर्तिको लागि पनि पुरुषहरुले एक्स्ट्रा म्यारिटल अफेयरमा लागेका हुन्छन् ।

अहिलेको व्यस्त दैनिकीमा दम्पतीहरु यौनसुखबाट विमुख त भएका छैनन् ?

त्यसबारेमा अध्ययन भएको छैन । त्यसैले सिधा भन्न त कठिन हुन्छ । तर विगतका ५ वर्षमा आएका यस्ता घटनालाई विश्लेषण गर्ने हो भने वैदेशिक रोजगारीमा जाने चलनले गर्दा दम्पतीमा यौनसुख लिन नसकेको कुरा भने यथार्थ हो । यसबाहेक धेरै अध्ययन भएको छैन ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको