Chauthoanga - Nepali News Media
बंगलाचुलीमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकामा आजदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।बंगाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षता एवं लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्धाटन गरिएको हो । खेलकुद कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले शिक्षा,स्वास्थ्य र खेलकुद लाई संग-संगै विकास गर्नु पर्ने बताउनुभयो। उहाँले नागरिक स्वस्थ भएको अवस्थामा शिक्षा र खेलकुदको क्षेत्रमा अघि बढ्न सम्भव हुने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री खनालले खेलकुदको माध्यमबाट मान्छेको जीवन परिवर्तन गर्न सकिने बताउनुभएको छ । खेलकुद र शिक्षा मानविय विकासको पहिलो आधार भएको बताउँदै राज्यले शिक्षा र खेलकुदलाई संगसंगै अगाडी बढाउने निति लिएको बताउनुभयो ।

मन्त्री खनालले खेलकुदको विकास संग-संगै हरेक सामुदायिक विद्यालयमा शिक्षाको विकास तथा विद्यालयमा भौतिक विकास पनि अपरिहार्य रहेको बताउनुभयो । स्वास्थ्य मन्त्री खनालले बंगलाचुलीको विकासलाई तराईको विकास संगसंगै अगाडी लैजाने गरी विकास गरिने बताउनुभयो । अहिलेको अवस्थामा स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकारको संयुक्त लगानिमा विभिन्न विकासका कार्यक्रमहरु भईरहेको स्मरण गराउँदै आवश्यकताको आधारमा गाउँपालिकाका विभिन्न क्षेत्रमा विकासका काम गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले हरेक विद्यालयमा शिक्षा संगै खेलकुदको विकासका लागि गाउँपालिकाले यस्ता कार्यक्रमहरु आयोजना गरिरहेको बताउनुभयो ।उहाँले भौतिक विकास संगै खेलकुद र शिक्षाको विकास गाउँपालिकाको उच्च प्राथमिकता रहेको समेत बताउनुभयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि.सीले खेलकुदको विकासले विद्यालहरुको संस्थागत विकास हुने बताउनुभयो । उहाँले हरेक वर्षको रोटेसनमा खेलकुद प्रतियोगिताको आयोजना हुँदा विद्यालयको जिम्मेवारी,भौतिक विकास तथा संस्थागत विकासमा टेवा पुगेको बताउनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड उद्घाटन समारोहमा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,वडा नम्वर एकका अध्यक्ष विष्णु कुवर,दुईका अध्यक्ष मैते पुनमगर,तिनका अध्यक्ष शोभाराज विश्वकर्मा,चारका अध्यक्ष डाँस बहादुर डाँगी,पाँचका अध्यक्ष लिला बहादुर घर्ती,सातका अध्यक्ष गिर बहादुर थापा , आठका अध्यक्ष झविन्द्र गाहा मगर, गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद आचार्य,योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, शिक्षा शाखा प्रमुख ओम प्रकाश केसी,कार्यपालिकाका सदस्य गणेश विश्वकर्मा लगाएत वडाका सदस्यहरुको सहभागिता रहेको थियो । त्यसैगरी नेकपा माओबादी केन्द्रका बंगलालचुली गाउँपालिका अध्यक्ष डोमाकान्त कवरमगर,नेपाली काग्रेसका पालिका शभापती जागेश्वर अधिकारी ,लगाएत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी,शिक्षक अविभावक संघका अध्यक्ष तथा पदाधीकारी र स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।

बंगलाचुली गाउँपालिकाको आयोजना तथा वडा नम्वर एकमा रहेको महेन्द्र माध्यामिक विद्यालय स्यूजाको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।खेलकुद प्रतियोगिता महेन्द्र माध्यमिक विद्यालय बोझपोखराको प्राङग्रणमा चलिरहेका छन् ।

प्रतियोगितामा भलिबल, कबर्डी, ज्याबलिङ थ्रो, रिले दौड, छोटा तथा लामो दौडहरु, हाइजम्प, लङ्गजम्प लगायतका खेलकुद प्रतियोगिताहरु हुने महेन्द्र माध्यमिक विद्यालय स्यूजाका प्रधानाध्यापक मोतिराम डाँगीले जानकारी दिनुभयो । महेन्द्र माध्याविक विद्यालय स्यूजाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद गौतमको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक हेमराज पाण्डेयले गर्नुभएको थियो । बंगलाचुली गाउँपालिकाका भरिका माध्यामिक विद्यालयको सहभागिता रहेको खेलकुद प्रतियोगिता भोली समापन गरिने छ ।

 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको