Chauthoanga - Nepali News Media
आगोले जलायो सिंगो बस्ती

देउखुरी - राजपुर गाउँपालिका–७ हाडबास निवासी टेकबहादुर डाँगी छिमेकी सीता भण्डारीको घरमा सल्किन लागेको आगो निभाउन त्यसतर्फ लाग्नुभयो । गाईघाट सामुदायिक वनमा सल्किएको डढेलो राप्ती नदीको बगरको खरकट्टीमा सल्किसकेको थियो । त्यो आगो हाडबास गाउँमा सल्किन खोजेपछि टेकबहादुर लगायतका गाउँलेहरु आगो निभाउन केन्द्रित हुनुभयो । तर आगो नियन्त्रणमा आउन सकेन, सल्कियो बस्तीमा । छिमेकीको घर जोगाउन पुग्नुभएका टेकबहादुरको घर पनि आगोले निल्यो ।

पश्चिमबाट चलेको तीब्र हावाका कारण गाउँमा आगलागी भयो । क्षणभरमै बस्ती खरानीमा परिणत भएपछि टेकबहादुरले केही सोच्नै सक्नुभएको छैन । ‘गाउँमा आगो सल्किन थालेपछि निभाउन गयौं । हाम्रो प्रयासले आगो नियन्त्रणमा लिन सकेनौं । आगोले बस्ती नै निल्यो । एक जोर कपडा पनि बचाउन सकिएन । खाने छाकको कुरा छोडौं’– स्थानीय टेकबहादुरले भन्नुभयो– ‘भोकभोकै र प्यास प्यासमै बस्नु परेको छ । घर जलेर खरानी भयो । हाम्रो बास खुला आकाशमुनि छ ।’

खिमलाल केसीको परिवार पनि बिचल्लीमा परेको छ । आगो नियन्त्रण गर्न छिमेकीको घरमा पुग्नु भएका खिमलाल फर्किने बेलामा आफ्नो घर पनि सग्लो भेटिएन । ‘हावाको यस्तो वेग पहिला कहिल्यै देखिएन । यसरी हावा चल्यो कि आगो क्षणभरमा बस्तीमा सल्कियो र गाउँनै सखाप भयो’– उहाँले भन्नुभयो– ‘न दमकल आइपुग्यो । न समयमा उद्धारकर्ता । राप्ती नदीको किनारको यो बस्ती विकासमा पछाडि परेकोले यति ठूलो क्षति भोगियो ।’

राजपुर गाउँपालिका–७ मा रहेको हाडबास गाउँ नै आगलागीले गर्दा सखाप भएको छ । टिनले छाएका केही घरको छानो मात्रै जोगिएको छ । बाँकी फुसको छानो भएका घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । ‘दिउँसो भएको आगलागीले गर्दा २५ घरगोठ जलेर नष्ट भएको प्रारम्भिक विवरण छ । आगो नियन्त्रणमा लिन सक्ने अवस्था रहेन’– उहाँले भन्नुभयो– ‘केही घरधनीले सामान्य मात्रामा सामान निकाल्न सक्नुभयो । बाँकी घरधुरीले केही निकाल्ने अवस्था नै रहेन ।’

घटनास्थलमा पुगेको प्रहरीले क्षतिको विवरण संकलनको काम थालेको छ । हाडबास पुग्न राम्रो सडक छैन । बाँके जोड्ने हुलाकी सडक बनेको छैन । जसले गर्दा त्यहाँसम्म दमकल पुग्न सकेन । राजपुरको गोठुवासम्म पुगेको दमकल त्यहाँबाट अघि बढ्न सकेन । लमही नगरपालिका र गढवा गाउँपालिकाबाट दुई वटा दमकल आगो नियन्त्रणका लागि हाडबास जान खोजेका थिए । तर बाटोबाट दमकल नमोडिएपछि फर्किएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन केसीले जानकारी दिनुभयो । स्थानीयहरु दमकल कुरेर बसेका थिए । तर बाटो राम्रो नभएका कारण बस्तीसम्म दमकल पुग्नै सकेन ।

‘बाटो भएन । कसरी दमकल आइपुगोस् । राप्तीमा पुल बनेको भए हाम्रा घरहरुमा लागेको आगो निभाउन दमकल आइपुग्थ्यो । तर पुल भएन’– स्थानीय बासिन्दा खिमलाल केसीले भन्नुभयो– ‘विकासमा पछाडि परेको पीडा अहिले नराम्रोसँग भोगियो ।’ अमिलियादेखि हाडबास नजिक छ । तर त्यहाँ पुल छैन । स्थानीयहरु डुंगाबाट आउजाउ गर्छन् । आगलागीका कारण स्थानीय सीता भण्डारी, कालीबहादुर ऐरी, विशाल बुढा, नरेश थापा, अर्जुन योगी, रुपनाथ योगी, शालिकराम डाँगी, धर्मराज डाँगी, टेकबहादुर डाँगी, खेमराज डाँगी, खिमलाल खड्का, मनिनाथ कँवर, दामोदर भण्डारी, लोकबहादुर भण्डारी, दुर्गा बोहरा, चन्द्रवीर कुमाल, भागीनाथ कँवर, कमल केसी, इन्द्रबहादुर वली, विमला वली लगायतको घरगोठ जलेर नष्ट भएका छन् । बेगसँग चलेको हावाहुरीका कारण आगो फैलिएपछि समस्या भएको स्थानीयको भनाइ छ । गर्मी मौसम, सुख्खा खडेरीका कारण भएको विपत्तिका कारण स्थानीयहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।

सहयोगको अपिल

राजपुर गाउँपालिकाले तत्कालका लागि राहत उपलब्ध गराएर साँझको छाक टार्ने योजना अनुसार खाद्यान्न वितरण गरेको अध्यक्ष शरदकुमार बुढाथोकीले बताउनुभयो । ‘म अहिले आगलागी भएको स्थानमा छु । पीडितहरुसँगै छु । उहाँहरुको पीडामा हामी सबैले मल्हम लगाउन जरुरी छ’– उहाँले भन्नुभयो– ‘म सिंगो जिल्ला, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हाडबासमा भएको विपत्तिमा सबैको साथ सहयोगको खाँचो छ । दातृ निकाय, उद्योगी, व्यवसायी, समाजसेवी सबैलाई अपिल गर्दछु ।’ राजपुर गाउँपालिकाले आगलागी पीडितहरुलाई तत्काल राहतदेखि पुनस्र्थापनासम्मको काममा केन्द्रित गर्ने भएको छ । पालिकाले सबैसँग सहयोगको अपिल पनि गरेको छ ।

आगलागी पीडितलाई मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले तत्कालका लागि राहत सामग्री उपलब्ध गराएको छ । २५ थान सेल्टर कीट जसमा रहेको टेन्ट, बाल्टिन, मग, झुल, म्याटलगायतका सामग्री लिएर संस्थाका अध्यक्ष निर्मला गौतमको नेतृत्वमा लगिएको संस्थाका प्रबन्धक प्रदीप मजगैयाँले जानकारी दिनुभयो । नयाँयुगबोध दैनिकबाट

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको