Chauthoanga - Nepali News Media
लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडिङ (एनजी) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए पुनः अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक अवस्था थियो । लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरेर ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र तीन वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने नियम लागू गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनभयो । 

अब दुई विषयसम्म मात्र एनजी भए तुरुन्तै ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । यो व्यवस्था मंगलबारबाट सुरु कक्षा १२ को परीक्षामा समेत लागू गरिएको अर्यालले बताउनुभो । उहाँका अनुसार गत वर्ष एनजी प्राप्त विद्यार्थीले यसपालि सबै विषयको परीक्षाका लागि आवेदन दिए पनि जुन विषयमा एनजी आएको हो सो विषयमा मात्र परीक्षा दिए हुन्छ ।

बोर्डका अनुसार करिब ५६ हजार विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिँदै छन् । सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्थाका कारण विद्यार्थीले कक्षा छाड्ने दर बढेकाले अघिल्लो बिहीबार निर्देशिका संशोधन गरिएको हो ।

‘त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाणपत्र तह कायम हुँदा पनि विद्यार्थीले जुन विषयमा फेल भएको हो, त्यसमा मात्र ७ वर्षसम्म परीक्षा दिन पाउँथे,’ बोर्डका सदस्य सचिव अर्यालले भन्नुभयो , ‘२०५० यता पनि फेल भएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिए हुन्थ्यो, २०७८ को निर्देशिकाले दुई विषयभन्दा बढी ननग्रेडिङ भए सबै दिनुपर्ने अवधारणा ल्यायो, विद्यार्थी मर्कामा परेको गुनासो बढेपछि पुरानै नियम लागू गरिएको छ ।’

लेटर ग्रेडिङ निर्देशिका कक्षा १–१२ मा लागू गरिएको छ । संशोधनपछि विशेष गरी एसर्ईई र १२ कक्षाको परीक्षामा एनजीमा पर्ने विद्यार्थी लाभान्वित हुनेछन् । तीन वर्षसम्म ४ वटा परीक्षा दिँदासमेत ग्रेडवृद्धि हुन नसके त्यस्ता विद्यार्थीले चाहिँ नियमित विद्यार्थीसरह सबै विषयको परीक्षा दिनुपर्नेछ ।

निर्देशिकाले प्रत्येक विषयको सैद्धान्तिकतर्फ कम्तीमा पूर्णांकको ३५ प्रतिशत अंक नल्याए ग्रेडसिटमा एनजी उल्लेख हुने व्यवस्था गरेको छ । उक्त व्यवस्थाका कारण गत वर्ष ५२ प्रतिशतभन्दा बढी विद्यार्थी एनजीमा परेर उच्च शिक्षामा भर्ना हुन पाएनन् ।

विद्यालयले कक्षा ८ सहित अन्य कक्षामा दुई विषयसम्म ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था अभ्यास गर्दै आएका छन् । ग्रेड प्राप्त गरे पनि वृद्धि गर्न चाहने विद्यार्थीको हकमा ग्रेडवृद्धि परीक्षा दिन पाउने/नपाउने विषयमा बोर्डले कार्यदल बनाएको छ ।

देशभरिका एक हजार ४ सय ५६ परीक्षा केन्द्रमा १२ कक्षाको परीक्षा सञ्चालन भइरहेको छ । जेठ ५ सम्म हुने परीक्षामा जापानको नेपाली विद्यालयमा २७ परीक्षार्थी पहिलो पटक सहभागी भएका छन् ।

२०७८ मा उक्त विद्यालयबाट पहिलो पटक एसईईमा सहभागी भएका थिए । बोर्डले जेठ १५ देखि असार १५ सम्म कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयलाई सर्कुलर गरेको छ । बोर्डले कायम गरेको रजिस्ट्रेसन नम्बर र सिम्बोल नम्बरका आधारमा कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था लागू गरिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको