Chauthoanga - Nepali News Media
मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध गरिँदैछ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताउनुभएको छ । 

आज दिउँसो नेकपा ९माओवादी केन्द्र० सम्बद्ध युवा महिलाको भेलालाई सम्बोधन गर्दै उहाँले सरकारले गरेका राम्रा कामबाट तर्सिएर प्रतिपक्षीले संसद् अवरोध गरेको बताउनुभयो । 

“मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवश भनेको कुरालाई बङ्ग्याएर संसद् अवरुद्ध गर्ने कोसिस हुँदैछ । खासमा यसको अर्थ अर्कै छ । मिटरबाजीहरूलाई कारबाही गर्ने ऐन आज संसद्बाट पास हुने कार्यसूची थियो । कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छ । भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद् अवरुद्ध गरिँदैछ ।”

सरकारले भ्रष्टाचारविरुद्ध लडाइँ थालेको उल्लेख गर्दै उहाँले सुशासनको लडाइँमा आफूहरूले जित्ने दाबी गर्नुभयो । “हामी सुशासनको पक्षमा, भ्रष्टाचारविरुद्धको लडाइँ लडिरहेको छौँ, यो लडाइँमा हामी जित्छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “विगतमा हामी विभाजित भयौँ, त्यसले कमजोर पनि भयौँ । तर अहिले परिस्थिति फेरिएको छ । माओवादी धाराका सबै शक्ति एकताबद्ध हुँदैछौँ । विसं २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ ।”

उहाँले युवा तथा महिलालाई सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लाग्न निर्देशन दिनुभयो । आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको जनाउँदै उहाँले भ्रमणका क्रममा भएको सम्झौताबाट नेपालले ठूलो लाभ लिने बताउनुभयो । 

“विद्युत् व्यापार सम्झौता सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ । सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ । यो अत्यन्तै महत्वपूर्ण छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको