Chauthoanga - Nepali News Media
खाना पकाउने ग्यास र पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

काठमाण्डाै – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आज आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर छ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाएको हो । ग्यासको मूल्य अब प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य काठमाण्डौ उपत्यकामा प्रतिलिटर एक सय ६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक–फरक दर कायम भएको छ । डिजलको मूल्य काठमाण्डौ उपत्यकामा प्रतिलिटर एक सय ४६ रुपैयाँ पर्नेछ । 

निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । 

भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेशन (आईओसी) को ३१ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको