Chauthoanga - Nepali News Media
प्रधानमन्त्रीसँग मन्त्रीहरुले गरे कार्यसम्पादनको वार्षिक सम्झौता

काठमाडौँ — प्रधानमन्त्री प्रचण्डले  मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/८१ का लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । मन्त्री र कर्मचारीको मासिक रिपोर्ट कार्डको आधारमा पुरस्कार र कारबाही हुने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । 

सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा पनि भएको छ । त्यसपछि प्रधानमन्त्रीले आफ्नो कार्ययोजनामा उल्लेख भएअनुसारको लक्ष्य हासिल गर्ने मन्त्री, सचिव र विभागीय वा आयोजना प्रमुखलाई पुरस्कृत गरिने र नगर्नेलाई जिम्मेवारी फेरबहदल गर्ने वा कारबाही गरिने जानकारी दिनुभयो  । त्यस्तै उनले समाजका सबै क्षेत्रमा सकारात्मक भाष्य र सरकारप्रतिको भरोसा बढेर गएको भन्दै जनताले सुशासनको प्रत्याभूति गर्ने अवस्था सिर्जना भएको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो , 'मन्त्री, सचिव र आयोजना प्रमुखले आफू मातहतका आयोजना तोकिएको समयमा सम्पन्न गर्न र प्रभावकारी कार्यान्वयनमा पूर्ण उत्तरदायित्व वहन गर्दै नतिजा हासिल हुनेगरी कार्यसम्पादन गर्न निर्देशित गर्दछु ।'

मन्त्री, सचिव र आयोजना प्रमुखहरूलाई मूल्यांकनको आधारमा मासिक रूपमा गरिने र त्यसको गुणात्मक प्रगतिसहितको मासिक रिपोर्टकार्ड तयार गरिने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

आफूले आयोजनामा देखिएका समस्या फुकाउन नसके प्रधानमन्त्री कार्यालय आउन भन्दै दाहालले ती समस्या समाधान गर्न आफू तयार रहेको कुरा आश्वस्त पार्नुभयो । निर्णयमा जोखिम हुन्छ भनेर झुलाउने काम नगर्न पनि प्रधानमन्त्री दाहालले कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  राम्रो काम गर्ने कर्मचारीलाई सरकारले साथ दिने उहाँको भनाइ थियो । विकासका काममा बाधा पुर्‍याएमा कारबाही गरिने पनि उहाँको भनाइ थियो । विकास निर्माणका योजना कार्यान्वयन र निर्णयमा झुलाउने काम गर्दा झन् जोखिम हुने उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । 

प्रधानमन्त्रीको निर्देशन (पूर्णपाठ)

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको