Chauthoanga - Nepali News Media
सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदै

दाङः सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चन्द्रमासअनुसार भदौ महिनामा मनाइने भए पनि यस वर्ष भदौशुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले साउन शुक्ल अष्टमीमै मनाउन लागिएको हो । चन्द्रमासअनुसार भदौ महिना अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष साउनशुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा.तोयराज नेपाल बताउनुहुन्छ ।  शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । गौराको पहिलो पटक व्रत बस्नेले शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ ।गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।

सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोबास रहेका क्षेत्रमा पनि यो पर्व धुमधामकासाथ मनाउन थालिएको छ । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तितेपाती र अपामार्ग र कतै तिलको बिरुवा पनि राखेर देविको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देविलाई भदौ कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार व्रत बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले बताउनुभयो । देविलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ ।

गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । दुई/तीन दिन पूजा गरिसकेपछि मङ्गलवार र शनिवार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगेर सेलाइन्छ । जुठो, सुतक परेका बेला देविलाई विसर्जन गर्नु नहुने परम्परा छ ।

देविलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् ।  यो पर्वका लागि साउन शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ । यसलाई बिरुडा भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा बिरुडा चढाइन्छ ।

भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ । यसैबीच,दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ । यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने जनविश्वास रहिआएको छ । आज देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्ने गरिन्छ ।  

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको