Chauthoanga - Nepali News Media
नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा  राधाकृष्ण कँडेल निर्वाचित

दाङः नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ । कँडेल एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतले पछि पार्दै विजयी हुनुभएको हो । मंगलबार राति सार्वजनिक भएको मतगणना नतिजा अनुसार कँडेलले ४ सय ७९ मत पाएर विजयी हुनु भएको हो भने उहाँका प्रतिद्वन्द्वी रिजालले ४ सय ७७ मत पाउनु भयो । त्यसैगरी उपाध्यक्षमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४ सय ५५ मत पाएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी रिजाल समूहका विश्वराज बराल अनुपले ३ सय ६ मत पाउनु भयो । पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी बाँकेका दुर्गाप्रसाद थारुले ३ सय ९३ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लीला राना मगर ३ सय ५२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी बाँकेकी बसन्ती अधिकारीले ३ सय ५१ मत पाउनु भयो । यस्तै, सचिवमा लक्ष्मण आचार्य अस्ति सोमवार नै निर्विरोध निर्वाचित हुनुभएको थियो । अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा चुनावमा ९ सय ६५ मत मात्रै खसेको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको