Chauthoanga - Nepali News Media
आज ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै

काठमाण्डौ -  आज ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । ‘विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको हो । हरेक वर्ष असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो दिवस मनाउँदै आएको छ । 

नेपालमा विज्ञान शिक्षामा अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन थालिएको हो । राष्ट्रिय विज्ञान दिवस प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक, उद्यमी, शिक्षक तथा विद्यार्थीलगायत विज्ञान प्रविधि प्रेमी सबैमा उत्साहको दिन रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयका सह–सचिव विश्वबाबु पुडासैनीले यो वर्ष विज्ञान प्रविधि तथा नवप्रवर्तन प्रवद्र्धन गर्ने संघ र संस्थाहरुले विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागेको जानकारी दिनुभयो । मुख्य कार्यक्रम राष्ट्रिय प्रकृति संरक्षण कोषको हलमा हुँदैछ ।

सरकारले यो आर्थिक वर्षमा अनुसन्धान र नवप्रवर्तनका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कोष सञ्चालनका लागि मन्त्रालयले अनुसन्धान र नवप्रवर्तनसम्बन्धी कानुनी व्यवस्था गर्न विधेयकको मस्यौदालाई अन्तिम रुप दिने प्रकृया अगाडि बढाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको