Chauthoanga - Nepali News Media
सिर्जनशील जनशक्ति उत्पादनमा विश्वविद्यालय लाग्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । 

पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रममा दिगो विकास, वातावरण संरक्षण, गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । 

नयाँ–नयाँ कुराको खोज, अनुसन्धान र आविष्कार गर्नसक्ने, मुलुकको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्न सक्ने सिर्जनशील जनशक्ति उत्पादनमा विश्वविद्यालय लाग्नु पर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड छ ।  

विश्वविद्यालयका कुलपति समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूको समुदायस्तरमा पहुँच विस्तारका लागि नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखा परेका समस्याहरूको समाधान र ऐनको समयानुकूल परिमार्जन र संशोधनका लागि सरकारको सहयोग रहने विश्वास दिलाउनु भयो ।  

उच्चशिक्षामा विकासको गतिलाई व्यापक बनाउँदै प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण र उपयोग, पर्यटन प्रवर्धन र कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोगमार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालय केन्द्रित हुनु पर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको