Chauthoanga - Nepali News Media
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक,बैंक दर र घरजग्गा कर्जाको जोखिमभार घट्यो(पूर्णपाठसहित)

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

माैद्रिक नीति समीक्षामार्फत राष्ट्र बैंकले ब्याजदर घटाएकाे छ । राष्ट्र बैंकले बैंक दरलाई ७ दशमलव ५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाएर ५ दशमलव ५ प्रतिशत र निक्षेप सङ्कलन बोलकबोल दरलाई ४ दशमलव ५ प्रतिशतबाट घटाएर ३ दशमल ० प्रतिशत कायम गरेको छ । विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरूको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी दर घटाइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत् राखिएको छ । समीक्षामार्फत राष्ट्र बैंकले रियल स्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेको हो ।

यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरूको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिने व्यवस्था गरिएको छ । सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रूपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा दिँदा आधार दरमा २ प्रतिशत विन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने समीक्षामा उल्लेख छ ।

यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको