Chauthoanga - Nepali News Media
लाइन काटिएका २३ वटा उद्योगमा प्राधिकरणले बिजुली जोड्ने

काठमाण्डौः नेपाल विद्युत् प्राधिकरणलले बिजुली आपूर्ति बन्द गरेका दाङको घोराही सिमेन्ट सहित २३ वटा उद्योगमा फेरि बिजुली जोड्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट बिजुल उपभोग गरेका तर त्यसबापत प्रिमियम महसुल नतिरेका २४ वटा उद्योगको बिजुली आपूर्ति बन्द गरेको थियो । तर सरकारको निर्देशनपछि महसुल नतिरिकनै लाइन जोड्ने निर्णय भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बिहान बसेको सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको बिजुली लाइन फेरि सञ्चालन गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो । त्यसमध्ये हिमाल स्टिलले बक्यौता किस्ताबन्दीमा तिर्न शुरु गरेपछि लाइन जाडिएको थियो ।

मन्त्रिपरिषद्को अस्तिकाे बैठकले प्राधिकरण र उद्योगीहरूबीचको महसुल बक्यौताको विवाद समाधानका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव र उद्योग सचिव सदस्य रहेको जाँचबुझ समिति गठन गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको