Chauthoanga - Nepali News Media
वैशाखदेखि शुरु हुने शैक्षिक सत्रअघि नै विद्यार्थीको हातमा किताब पुर्याउने सरकारको तयारी

काठमाण्डाैः सरकारले वैशाखदेखि शुरु हुने शैक्षिक सत्रअघि नै विद्यार्थीको हातमा किताब पुर्याउने तयारी गरेको छ । किताब छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अनुसार अहिले छपाइको काम धमाधम भइरहेको छ  लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले किताब छाप्ने काम चौबिसै घण्टा भैरहेको र छापिएका किताब देशका विभिन्न डिपोमा पठाउने काम पनि शुरु भइसकेको जानकारी दिनुुभयो ।

नियमित रुपमा छाप्ने र छापेर पठाउने काम भइरहेकाले देशका सबैतिर समयमै किताब पुुग्ने उहाँले बताउनुुभयो । उहाँका अनुसार पाँच दिन अघिदेखि केन्द्रले चौबिसै घण्टा किताब छपाइको काम गरिरहेको छ । अहिले दैनिक एक लाख थान किताब छपाइ भइरहेको झाले बताउनुभयो ।

जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब एक करोड ७० लाख किताब आवश्यक पर्नेमा अब करिब ६५ लाख थान किताब मात्र छाप्न बाँकी छन् । वैशाखदेखि शैक्षिक सत्र शुरु हुने भएकाले त्यतिबेलासम्म किताब छापेर पठाइ सकिने जनक शिक्षाले जनाएको छ ।  

शिक्षा मन्त्रालयले यस वर्षको किताब छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाइ गर्ने निर्णय गरेको थियो । निजी क्षेत्रका छापाखानालाई समेत छनाेट गर्न पाठ्यक्रम विकास केन्द्रले बोलपत्र आह्वान गरिसकेको छ । विद्यालयमा पढाइ शुरु भएको महिनौँ दिनसम्म पनि किताब नपुुग्ने समस्या चालु शैक्षिक सत्रदेखि अन्त्य भएको हो । गएको वैशाखमा भर्ना हुने बेलामै देशभरका धेरै विद्यार्थीले किताब पाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको