Chauthoanga - Nepali News Media
माओवादीको विधान अधिवेशन, हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पहिलो पटक गर्न लागेको विधान अधिवेशनमा एक हजार तीन सय प्रतिनिधि सहभागी हुने भएका छन् । आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौँको प्रज्ञा भवनमा आयोजना हुने अधिवेशनमा देशैभरबाट आएका प्रतिनिधिमार्फत बहस र छलफल गरेर विधान बनाइने छ ।

पार्टीलाई चुस्तदुरुस्त बनाउन ठुलो सङ्ख्यामा प्रतिनिधि राखेर बहस गरी विधान टुङ्गो लगाउन लागिएको पार्टीले जनाएको छ । पार्टीका कोषाध्यक्ष श्रीराम ढकालका अनुसार विधान अधिवेशनको पहिलो दिन आगामी फागुन १ गते उद्घाटन हुने छ भने फागुन २ र ३ गते विधानकेन्द्रित छलफल हुने भएको छ । 

विधान अधिवेशनमा पार्टी केन्द्रीय सदस्य ४०९ जनासहित ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार, केन्द्रीय विभाग, तीन केन्द्रीय आयोग, प्रदेश पदाधिकारी, ७७ जिल्ला संयोजक र जनवर्गीय सङ्गठनका प्रमुख बैठकमा सहभागी हुने छन् । “हामीले बैठकमा आउने प्रतिनिधिको फोटो, पार्टी सदस्यता र प्रवेशपत्र तयार गर्दै छौँ,” उहाँले भन्नुभयो, “बैठकमा आउने प्रतिनिधिले साँझ बिहान खाना र बस्ने व्यवस्था आफैँ गर्नुपर्ने छ । दिउँसोको चिया, खाजा र पानी पार्टीले व्यवस्था गर्ने छ।” बैठकमा आउने प्रतिनिधिसँग एक हजार रुपियाँ उठाइने छ । 

पार्टी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा तयार भएको विधान मस्यौदामा केन्द्रित भई माघ २४ गतेसम्म सुझाव दिन निर्देशन दिएको छ । पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई लागेका सुझाव इमेल र प्रत्यक्ष उपस्थित भई पार्टी कार्यालयमा दिन सक्ने भएका छन् । 

“विधानमा केन्द्रित भई सुझाव दिन विधान मस्यौदा तल पठाएका छौँ। अहिले वडासम्म पार्टी विधान मस्यौदा पुगेको छ,” उहाँले भन्नुभयो, “विधानमा केन्द्रित भई पार्टी नेता कार्यकर्ताले बहस छलफल चलाउनुभएको छ । त्यसपछि ती सबै सुझाव हार्ड र सफ्ट दुवै तरिकाले सुझाव दिनुहुने छ।” 

पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले विधान मस्यौदामा केन्द्रित भई सबै सुझाव आएपछि माघ २६ गतेदेखि स्थायी समिति बैठक बसेर छलफल हुने बताउनुभयो । “विधानमा केन्द्रित भई के–कस्ता सुझाव आए भन्नेबारे स्थायी समिति बैठकमा छलफल हुने छ । त्यसपछि विधान अधिवेशन कसरी सम्पन्न गर्ने र बढीभन्दा बढी नेता तथा कार्यकर्ताका सुझाव समेट्न प्रयास गरिने छ,” उहाँले भन्नुभयो।    

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको