Chauthoanga - Nepali News Media
सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिको आधार सुशासनलाई बनाउनुपर्ने बताउनुभएको छ । 

नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारणसभा उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले सरकारी, निजीलगायत हरेक क्षेत्रमा सुशासनको आधार तयार गरेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । 

”हामीसँग स्रोत साधनको अभाव छ भन्ने कुरा साँचो नै हो तर भएको स्रोत साधनको सही उपयोग नहुनु अझ ठूलो समस्याको रुपमा रहेको छ”, उहाँले भन्नुभयो–“सरकारी क्षेत्रमा अनियमिता र चुहावटको ठूलो समस्या छ भने निजी क्षेत्र पनि करको दायरामा नआउने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलगायतका धेरै समस्या देखिने गरेका छन् ।”  उहाँले यी समस्या समाधान गर्न सुशासनलाई समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्ने र त्यसका लाग सरकारले सुशासन र सामाजिक न्यायलाई समृद्ध राष्ट्र निर्माणको आधार बनाउन खोजेको पनि बताउनुभयो । 

हिजो निरङ्कुशतन्त्र जनताका अधिकारहरू कुण्ठित भएको बेलामा राजनीतिक अधिकारको एजेण्डा प्रधान भएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले त्यसका लागि आफूहरू सशस्त्र जनयुद्ध र शान्तिपूर्ण आन्दोलनमा सहभागी भएर आएको स्मरण गराउनुभयो । 

अब फेरिएको राजनीतिक व्यवस्थालाई बलियो बनाउँदै समृद्धिको माध्यमबाट जनताको अवस्था बदल्ने एजेण्डा प्रमुख बन्न गएको उल्लेख गर्दै उहाँले भन्नुभयो– “अब जनताको अवस्था बदल्ने भनेको मूलतः आर्थिक आधार र जीवनस्तर बदल्ने नै हो । त्यसका लागि राष्ट्रिय अर्थतन्त्रको विकास अनिवार्य शर्त हो ।”

नेपालमा राष्ट्रिय अर्थतन्त्र वृद्धिका चार आधारको रुपमा कृषि, पर्यटन, जलस्रोत र सूचना प्रविधि रहेको उल्लेख गर्दै मन्त्री शर्माले यी चारै क्षेत्रमा व्यक्तिगत वा सामूहिक लगानी वृद्धि गरेर उत्पादन बढाउने, बजारको सुनिश्चित गर्ने र त्यसबाट आउने प्रतिफलको हिस्सेदार आम जनतालाई बनाउने गरी राष्ट्रिय पुँजीको विकासमा ध्यान दिन उद्योग व्यापारीहरूलाई आग्रह गर्नुभयो । 

“दलाल पुँजीवादले राज्य वा सार्वजनिक सम्पत्तिको दोहन र जनताको श्रमको शोषण गरेर त्यसबाट प्राप्त प्रतिफल निश्चित व्यक्तिले बाँड्नुपर्छ भन्ने मान्यतालाई जोड दिन्छ तर त्यसको ठिक विपरीत सामूहिक लगानी र सामूहिक प्रतिफलमा आधारित राष्ट्रिय पुँजीको निर्माण गर्दै जाँदा समाजवादी अर्थतन्त्रको आधार तयार पार्न सकिन्छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।”, उहाँले भन्नुभयो ।

आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रिय पुँजीपतिहरूको आत्मविश्वास बढाउँदै उनीहरुलाई लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने र त्यसका लागि स्वयं प्रधानमन्त्रीकै नेतृत्वमा सरकार लागिरहेको पनि मन्त्री शर्माले स्पष्ट गर्नुभयो । संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रको लक्ष्य प्राप्तिका लागि नेपालमा सरकारी–निजी–सहकारीको तीन खम्बे अर्थनीति अङ्गालिएको उल्लेख गर्दै उहाँले यी तीनै वटा क्षेत्रबीच समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भूकम्प, कोभिड- १९ जस्ता संकट र पुराना सरकारहरूले गरेको अनुत्पादन क्षेत्रको लगानी र उनीहरूले छाडेर गएको आर्थिक दायित्वका कारण सरकारलाई नयाँ काम गर्न केही गाह्रो भए पनि आर्थिक क्षेत्रको पुनरुत्थान गर्दै सरकार अघि बढिरहेको पनि स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको