Chauthoanga - Nepali News Media
दाङमा  हालसम्म नेपाल टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ सञ्चालनमा

दाङ- दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ सञ्चालनमा आएका छन् । घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन् ।

यसअघि ती स्थानमा टेलिकमको टावर नहुँदा सञ्चारमा समस्या हुने गरेको थियो । तर अहिले टावर निर्माण भएपछि सहज भएको छ । साथै केही स्थानमा तत्कालै टेलिकमका टावर सञ्चालनमा ल्याउने तयारी रहेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले बताउनुभयो । 

उहाँका अनुसार प्रदेश राजधानी भालुवाङ, राजपुरको बेलामा केही समयमा टावर सञ्चालनमा ल्याउने तयारी रहेको उहाँको भनाइ छ । त्यस्तै गढवा गाउँपालिका–२, गढवा–६ खबरे, दङ्गीशरणको फुक्रेसल्ली, बबई कुमालगाउँ, बबईको मलै, कोइलाबासको भौवानाका, गुरुङगाउँमा टावर निर्माणका लागि जग्गा सम्झौतासमेत भइसकेको उहाँले बताउनुभयो । अबको केही समयमा टावर निर्माणको काम अघि बढ्ने प्रमुख शर्माको भनाइ छ ।

दाङमा हालसम्म एक सय तीनवटा बिटीएस टावर सञ्चालनमा छन् । टुजी, थ्रीजी र फोरजीका टावर सञ्चालनमा रहेका छन् । तीमध्ये फोरजीका आठ सय र एक हजार आठ सय मेघाहर्जमा सञ्चालनमा रहेको प्रमुख शर्माले बताउनुभयो ।

साथै जिल्लामा कुन ठाउँमा कस्तो गुणस्तरको सेवा सञ्चालन भइरहेको छ भन्ने कुराको मापन पनि भइरहेको छ । दाङमा इन्टरनेटका लागि टेलिकमको एफटिसीएच सेवा ७१ र फाइबर टु द होम सेवा (एफटिटीएच) पाँच हजार पाँच सय रहेका छन् । साथै तत्कालै ६० एफटिसीएच थप गर्ने तयारी रहेको समेत प्रमुख शर्माले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको