Chauthoanga - Nepali News Media
६ महिनामा देशभर १० लाखभन्दा धेरै गाडी कारबाहीबाट झन्डै ८० कराेड रुपैयाँ जरिबाना सङ्कलन

काठमाण्डाै – ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार वटाभन्दा धेरै गाडीलाई कारबाही गरेको छ । गएको साउनदेखि पुस मसान्तसम्म १० लाख ५२ हजार ५५ वटा गाडीलाई कारबाही गरेको र ७९ करोड ७१ लाख ४४ हजार रुपैयाँभन्दा धेरै जरिबाना सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

काठमाण्डाै उपत्यकाबाट मात्रै ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिबाना सङ्कलन भएको छ । यस्तै प्रदेशतर्फ सबैभन्दा धेरै मधेस प्रदेशबाट १० करोड पाँच लाख र सबैभन्दा कम कर्णाली प्रदेशबाट एक करोड ५६ लाख रुपैयाँ जरिबाना सङ्कलन भएको छ ।

कारबाहीमा परेका १० लाख ५२ हजार वटा गाडीमध्ये सबैभन्दा धेरै मोटरसाइकलको सङ्ख्या चार लाख ३२ हजार वटा छ । यस्तै कार/जीप/भ्यानको सङ्ख्या दुई लाख ६१ हजार वटा, ट्रक/ट्याङकरको सङ्ख्या एक लाख ७० हजार वटा र बस/मिनिबसको सङ्ख्या एक लाख नौ हजार वटा रहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको