Chauthoanga - Nepali News Media
बंगलाचुलीमा नेकपा एमालेका नेताकार्यकर्तालाई राजनीतिक स्कुलिङ

दाङ -नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाङको बंगलाचुली गाउँपालिकामा प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको निर्णय, जिल्ला कमिटी दाङको निर्देशन र दाङ स्कुल विभागको आयोजना तथा बङ्गलाचुली गाउँपालिका कमिटीको व्यवस्थापनमा दुइदिने प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सप्पन्न भएको हो ।

दाङ जिल्लाका १० वटै पालिकाहरुमा सञ्चालन गरिने प्रशिक्षण कार्यक्रमको शुरुवात बङ्गलाचुलीबाट गरिएको हो । बङलाचुली गाउँपालिकास्तरीय प्रशिक्षक/प्रशिक्षणको उद्घाटन गर्दै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले नेकपा एमालेका नेता कार्यकर्ताहरु अरु पार्टीका नेता कार्यकर्ताभन्दा वैचारिक र सैद्धान्तिक हिसाबले फरक हुनुपर्ने बताउनुभयो । नेकपा (एमाले)को स्पष्ट कार्यनीति र कार्यदिशाका साथ अगाडि बढेको हुनाले राष्ट्रको समृद्धिको लागि मिसन २०८४ लाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

उदघाटन कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो । प्रशिक्षक/प्रशिक्षण कार्यक्रममा पहिलो दिन दाङको समग्र विकासको बारेमा पोलिटब्युरो सदस्य नरुलाल चौधरी, पार्टी सञ्चालन र लेनिनवादी संगठनात्मक पद्धतिको बारेमा सचिवालय सदस्य तथा दाङ स्कुल विभाग प्रमुख विवेक श्रेष्ठले र (एमाले)को एप्स कसरी चलाउने भन्ने बारेमा कार्यालय सचिव युवराज ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो ।

दोस्रो दिन दाङको कम्युनिष्ट आन्दोलनको इतिहासको बारेमा जिल्ला सचिव मनोहर बुढाथोकी, नेतृत्व शैली र बैठक सञ्चालनबारे स्कुल विभाग सदस्य विनोद केसी, जबजको बारेमा प्रदेश कमिटी सदस्य सुरामणि बेल्बासे, राजनीति पार्टीहरुको तुलनात्मक अध्ययनको बारेमा केन्द्रीय स्थानीय तह विभाग सदस्य विकिरण गौतम र माक्र्सवादी दर्शनको बारेमा प्रदेश कमिटी सदस्य तिरण गौतमले प्रशिक्षण दिनुभएको थियोे ।

प्रशिक्षणको समापन गाउँपालिका कमिटी अध्यक्ष यमुना थापा घर्तीको अध्यक्षता र जिला कमिटी अध्यक्ष हुकुमबहादुर बस्नेतको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । तालिमका सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिमको समग्र सहजीकरण स्कुल विभाग सदस्य विनोद केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको