Chauthoanga - Nepali News Media
मौलिक उत्पादनबारे जागरण अभियान चलाउन आवश्यक : राष्ट्रपति

काभ्रेपलाञ्चोक - राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलान्चोक जिल्ला कृषि एवम् पशुजन्य उत्पादन र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । 

वृहत् काभ्रेपलान्चोक कृषि महोत्सवको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा  व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यहाँका उद्यमीहरू कृषि कार्यप्रतिको आकर्षण तथा रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायमा लागेको बताउनुभयो । उहाँले कृषिजन्य व्यवसायमा व्यापकता अभिवृद्धिमा  यस महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नुभयो । 

उहाँले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभयो  ।

राष्ट्रपति पौडेलले बढ्दो शहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएको हाम्रो मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाउन आवश्यक रहेको उल्लेख गर्नुहुँदै यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु जरुरी रहेको बताउनुभयो  । 

उहाँले विविध भौगोलिक संरचना भएको हाम्रो देशमा तराई क्षेत्रमा गहुँ, धान र उखु उत्पादन तथा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागन फ्रुट, एभोकाडो जस्ता हाई भ्यालु फ्रुटको विकासमा जोड दिनुपर्ने  बताउनुभयो  । 

उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तुलित विकासलाई मद्दत पुग्ने भन्नुहुँदै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताउनुभयो । उहाँले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो  । 

निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य छ भन्नुहुँदै राष्ट्रपति पौडेलले मूलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गर्न सकिने बताउनुभयो । 

हालै प्रकाशित भएको चौँथो जीवनस्तर सर्वेक्षणमा ५९ लाख जनसङ्ख्या गरिबिको रेखामा परेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले गरिबिको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा कृषि क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता रहेको बताउनुभयो  ।

उहाँले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने  बताउनुभयो  ।

उहाँले कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै बिउ विजन र मलको आपूर्ति, नवीनतम औजार, उपकरण, यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने रहेको बताउनुभयो  । 

उहाँले परम्परागत कृषि प्रणालीको अन्त्य गरी नवीनतम उच्च प्रविधि, उपकरण, गुणस्तरीय बीउ बिजन र व्यावसायिकताको उच्चतम अभ्यासद्वारा औधोगिकिकरणतर्फ उन्मुख हुन ढिला गर्न नहुने बताउनुभयो ।

आजदेखि सुरु भएको महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवका लागि बनेपास्थित करुणा मार्ग र लायकु क्षेत्र कृषि उपर र कृषि औजारले सजिएको छ । महोत्सवमा कृषि उपज, यन्त्र उपकरण लगायतका दुई सयभन्दा बढी स्टल रहेका छन् । 

काभ्रे कृषि एवं पशुजन्य उत्पादन, र बजारमुखी उत्पादनको दृष्टिले अग्रणी जिल्लाको रुपमा परिचित छ । कृषकहरूले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरूको कारोबारमा वृद्धि ल्याउने, कृषकलाई आवश्यक पर्ने उत्पादन सामाग्री एवं नयाँ प्रविधिप्रति आकर्षण बढाई उत्पादन लागत घटाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

कृषिका उदीयमान नवीनतम प्रविधि तथा वित्तीय साक्षरता सम्बन्धी सेमिनार आयोजना, रैथाने बाली एवं प्रविधिहरूको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर महोत्सवका प्रमुख आकर्षण हुन् । महोत्सवले कृषि पेसाप्रति आकर्षण बढाई वैदेशिक रोजगारीका लागि बिदेसिने युवाहरूलाई नेपालमा नै रोक्न सहयोग पुर्‍याउने विश्वास लिइएको आयोजक जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको