Chauthoanga - Nepali News Media
दाङ क्रिकेट लिग सिजन २ का लागि अक्सनमार्फत खेलाडी छनौट
दंगाली लायन्स

दाङ- आगामी फागुन १४ देखि फागुन १९ गतेसम्म दाङको घोराहीमा आयोजना हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन २ प्रतियोगिताको खेलाडी खरिद विक्री (अक्सन) आज सम्पन्न भएको छ । जिल्लाका ५ वटा टिमहरूले  अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका चर्चित खेलाडीसँगै जिल्ला, प्रदेश तहमा तथा उमेर समुहबाट प्रतियोगिता खेलेका खेलाडीहरू शनिबार घोराहीमा भएको अक्सनमार्फत टिममा आवद्ध भएका छन् ।

घोराही टाईगर्स, देउखुरी वारियर्स, पुरन्धारा च्यालेन्जर्स, तुलसीपुर रोयल् र दंगाली लायन्स गरी पाँच वटा फ्रेन्चाईज क्लबले अक्सनमार्फत खेलाडी खरिद गरेका हुन् । प्रतियोगिताका सम्पूर्ण खेल घोराही १७ मा रहेको गुलरिया क्रिकेट मैदानमा हुनेछन् । टी–२० फर्म्याटमा सञ्चालन हुने प्रतियोगितामा ११ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेता टोलीले २ लाख ५० हजार नगद तथा उपजिबेता टोलीले १ लाख रुपैयाँ हात पार्नेछ । त्यसैगरी खेलमा म्यान अफ द सिरिजले २५ हजार, उत्कृष्ट व्याट्सम्यान, बलरले १० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजार नगद प्राप्त गर्ने छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलीसकेका १ सय ३ जना, दाङबाट सिनियर समुहमा ५२ जना, १९ वर्ष मुनिको १९ जना, १६ वर्ष मुनिको २१ जनाले आवेदन भरेका थिए । जसबाट खेलाडीहरुको अक्सन गरिएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

अक्सनमार्फत खेलाडी खरिदमा सबैभन्दा बढी मुल्यमा विभागीय टीम नेपाली सेनाबाट खेल्दै आएका कपिलवस्तुका बसिर अहमदलाई दंगाली लायन्सले आफ्नो क्लबमा भित्राएको छ । बसिर अहमदलाई दंगाली लायन्सले ५६ हजार रुपैयाँमा भित्र्याएको हो । प्रत्येक टीम मालिकहरुले पाँच जनासम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको अनुसार क्लबले किनेका हुन् ।

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट भएका छन् भने राष्ट्रिय तथा अन्तरास्ट्रिय खेल खेलिसकेका एक–एक जना मार्की र टिम कप्तानका रुपमा टिम मालिकहरुले आफै छनोट गर्ने छन् । प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरुलाई खेलाडी खरिद गर्न न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रुपैयाँसम्म खर्च गर्न सक्ने मापदण्ड तोकेको थियो 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको