Chauthoanga - Nepali News Media
नयाँ सत्ता गठबन्धनको प्रदेश सरकारहरु पनि नयाँ बन्दै ,यसरी हुँदै छ दलिय सहमती

काठमाडौं – नयाँ सत्ता गठबन्धन बने संगै हाल रहेका प्रदेश सरकारहरु पनि नयाँ बन्ने भएका छन् । केन्द्रमा फेरिएको सत्तागठबन्धनका कारण प्रदेश सरकारहरु पनि अदलबदलको अवस्थामा पुगेका हुन् ।  लुम्बिनी,सुदुरपश्चिम, कोशी, र गण्डकीमा नेपाली कांग्रेसकले नेतृत्व गरेको प्रदेश सरकार परिवर्तन गरी नयाँ गठबन्धनले नयाँ सरकार  बनाउने तयारी गरेको छ भने बाँकी प्रदेशमा आलोपालो सरकार सञ्चालन हुने गरी दलहरु सहमति नजिक पुगेका छन् ।

अहिले कोशीमा कांग्रेसका केदार कार्की, गण्डकीमा सुरेन्द्रराज पाण्डे, लुम्बिनीमा डिल्ली चौधरी र सुदूरपश्चिममा कमलबहादुर शाह मुख्यमन्त्री छन् । मधेसमा जसपाका सरोजकुमार यादव, बागमतीमा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल र कर्णालीमा माओवादीका राजकुमार शर्माको नेतृत्वमा सरकार छ ।


प्रदेश सरकार परिवर्तन गर्दै आलोपालो नेतृत्व गर्ने गरी सत्तागठबन्धनमा रहेका दलहरु सहमति नजिक पुगेका हुन् । प्रदेश सरकारका विषयमा (आज) साँझसम्ममा सहमतिको खाका तयार हुने बताईएको छ ।  पछिल्लो छलफलमा लुम्बिनीमा माओवादी केन्द्र, कोशी, गण्डकी र कर्णालीमा नेकपा (एमाले), वाग्मती र मधेसमा जसपा र सुदूरपश्चिममा नागरिक उन्मुक्तिले सरकारको नेतृत्व गर्ने गरी दलहरूबीच कुराकानी भइरहेको छ ।

माओवादी अध्यक्ष  प्रचण्ड , एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच प्रदेशको भागबन्डा आज सम्म टुंग्याउने सहमति भएको हो । छलफलमा कोशीमा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादी, मधेसमा पहिलो चरणमा जसपा र दुई वर्षपछि एमाले, वाग्मतीमा पहिलो चरणमा माओवादी र दोस्रो चरणमा एमालेले सरकारको नेतृत्व लिने गरी छलफल अन्तिम चरणमा पुगेको नेताहरुको दाबी छ ।

गण्डकी र लुम्बिनीमा माओवादीले पहिलो चरणमा मुख्यमन्त्री पाउने छ भने दोस्रो चरणमा एमालेले सरकारको नेतृत्व गर्नेछ । कर्णालीमा माओवादीको नेतृत्व परिवर्तन गरी एमालेले लिने र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गरी दलहरु सहमति नजिक छन् । सत्तागठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी)ले तत्काल सरकारको नेतृत्व नपाउने देखिए पनि अध्यक्ष नेपालले मधेस वा वाग्मतीमा मुख्यमन्त्रीको दाबी गरेका छन् ।

कर्णालीमा एमालेलाई नेतृत्व दिनेबारे प्रधानमन्त्री दाहाल सकारात्मक देखिए पनि माओवादीभित्रको विवादले शर्मा नेतृत्वको सरकारलाई एक वर्षसम्म निरन्तरता दिनु पर्ने माग भइरहेको छ । बागमती र गण्डकीमा गठबन्धन दलको स्पष्ट बहुमत नभएकाले अन्य दललाई समेत साथमा लिएर सरकार गठनको तयारी भइरहेको नेताहरुको भनाइ छ ।

मधेसमा एकीकृत समाजवादी र बागमतीमा हाम्रो नेपाली पार्टी सरकार गठनमा निर्णायक देखिएका छन् । यसैलाई आधार बनाएर दलहरुबीच कुराकानी भइरहेको र आज साँझसम्म निष्कर्षमा पुग्ने नेताहरुको तयारी छ ।
यस्तो छ नयाँ गठबन्धनको प्रदेशको राजनितिक अवस्था 
लुम्बिनी प्रदेश

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेको २९, माओवादीको ११, जसपाको ३, एकीकृत समाजवादीको १ सिट छ । जुन सरकार गठनका लागि स्पष्ट बहुमत हो । उन्मुक्ति पार्टीसमेत गठबन्धनमा थपिए यसमा ४ सदस्य थप हुनेछ । लुम्बिनीमा कांग्रेसका २७, लोसपाका ३ तथा एकीकृत समाजवादी र जनमोर्चाको एक-एक सिट छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश सभामा ४० सांसद छन् । यहाँ माओवादीका १३ र एमालेका १० सांसद गठबन्धन सरकार बनाउन पर्याप्त छ । कर्णालीमा कांग्रेसका १४, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक-एक सांसद छन् ।


सुदूरपश्चिम प्रदेश

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा माओवादीको ११, एमालेको १०, नागरिक उन्मुक्तिको ७ र एकीकृत समाजवादीको ४ सिट छ । कांग्रेसको १८, राप्रपा १ र स्वतन्त्र १ सांसद छन् । यहाँ सरकार बनाउन २७ सांसद चाहिन्छ । मुख्यमन्त्री नदिए उन्मुक्ति सहमतिमा नआउने भएकाले बहुमत पुर्याउन गठबन्धनलाई सकस पर्नेछ । यस्तो अवस्थामा कांग्रेस फाइदामा देखिनेछ ।


कोशी प्रदेश

पहिलो चरणमा एमालेले मुख्यमन्त्रीमा दाबी गरेको कोशी प्रदेशसभामा गठबन्धनको सहजै बहुमत छ । ९३ सदस्य रहेको प्रदेश सभामा एमालेको ४०, माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको ४ र जसपाको एक सिट छ । सरकार बनाउन यहाँ ४७ सदस्य चाहिन्छ । जुन गठबन्धनमा स्पष्ट बहुमत छ । कांग्रेसका २९ र राप्रपाका ६ सांसद छन् ।

मधेस प्रदेश

मधेस प्रदेशमा पहिलो चरणमा जसपा नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने गरी दलहरु सहमति नजिक छन् । मधेसमा एमालेका २३, जसपाका १८, माओवादीका ९ र एकीकृत समजावादीका ७ सांसद छन् । जुन १०७ सिट रहेको प्रदेश सभामा सरकार गठनका लागि सहज बहुमत हो । यहाँ कांग्रेसका २३, जनमतको १३, लोसपाको ९, नागरिक उन्मुक्तिको ३, स्वतन्त्र ३ तथा संघीय समाजवादी र राप्रपाको एकएक सिट छ ।

बागमती प्रदेश

१ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ सिट छ । सरकार गठनका लागि आवश्यक ५६ मध्ये २ सिटमात्र नपुग्ने भएकाले गठबन्धनले २ सिट रहेको हाम्रो नेपाली पार्टीसँग वार्ता जारी राखेको छ । यद्यपि उसले मुख्यमन्त्रीमा दाबी गरेकाले सहमतिमा पुग्न बाँकी छ । ऊसँगको छलफल निष्कर्षमा पुग्न नसके ३ सिट भएको नेमकिपासँग छलफल गर्ने तयारी गठबन्धनको छ । वाग्मतीमा कांग्रेसको ३७ र राप्रपाको १३ सिट छ ।

गण्डकी प्रदेश

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा दलीय समीकरण रोचक छ । सरकार बनाउन यहाँ ३१ सांसद आवश्यक पर्छन् । यहाँ कांग्रेसको २७, एमालेको २२, माओवादीको ८ (सभामुखसहित), राप्रपाको २ र एक स्वतन्त्र सांसद् छन् ।मुख्यमन्त्री पाण्डेले एकीकृत समाजवादी छाडेर स्वतन्त्र सांसद बनेका दीपक मनाङेलाई मन्त्री बनाएका छन् । राप्रपासँग सहमति गर्न सके कांग्रेस नेतृत्वको गण्डकी सरकारलाई एक सदस्यमात्र अपुग हुनेछ । दुवैतर्फ समान मत हुने अवस्थामा सभामुखले मताधिकार प्रयोग गर्न पाउने छन् । तर त्यसका लागि मनाङेलाई पहिला गठबन्धनले सहमतिमा ल्याउनु पर्नेछ ।


 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको