Chauthoanga - Nepali News Media
आजदेखि एसईई, ५ लाख बढी विद्यार्थीले परीक्षा दिदै

काठमाडौँ - यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ। आज बिहान ८ बजेदेखि सुरु हुनेको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।

कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न–गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्नुभएको छ ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न केन्द्राध्यक्ष लगायत जनशक्तिलाई तालिम दिइएको थियो ।  

यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा दिँदै छन् । जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने पौडेलले जानकारी दिनुभयाे। कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना विद्यार्थी प्राविधिक धारका छन् ।

देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको हो । त्यस्तै नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थीले एसईई दिँदै छन् ।

जापानमा रहेको एभरेस्ट स्कुल परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिन लागेका हुन् । परीक्षाका लागि आवश्यक पर्ने प्रश्न पत्र र उत्तर पुस्तिकालगायतका सामग्री यसअघि नै सम्बन्धित जिल्ला पुर्‍याइएको थियो ।

प्रश्न पत्र ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइएको थियो । प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने पौडेलले बताउनुभयो ।

परीक्षा सञ्चालनका लागि देशभरबाट ७७ हजार बढी जनशक्ति खटिएका छन् । ७७ हजार ४८५ जना जनशक्ति परिचालन भएको पौडेलले बताउनुभयो ।

यो वर्षदेखि विद्यार्थीले न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरिएको छ । ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ यो वर्षदेखि कार्यान्वयनमा आएको विद्यार्थीले प्रत्येक विषयको सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने उहाले बताउनुभयो ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान थियो । यो वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसईई  परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभएको ।

परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनै पर्ने उहाको भनाइ छ । १०० पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने बताउनुभयो ।  ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको बताउनुभयो । 

 

 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको