Chauthoanga - Nepali News Media
डोल्पामा आगलागिमा परि  घाइते भएका तीनैजना बालकको मृत्यु

डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनैजना बालकको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार गएको बिहीवार आगलागी घटनामा परेका तीनैजना बालकको मृत्यु भएको हो । आगलागीबाट गम्भिर घाइते भएका १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको आज काठमाण्डौमा मृत्युभएको दाहालले बताउनुभयो ।

आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गएको शुक्रवार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा ज्यान गएकोे थियो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए । एकै गाउँका तीनजना बालकको आगलागीमा परेर ज्यान गएपछि सिङ्गो गाउँनै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताउनुभयो ।

त्रिपुरासुन्दरीले घाइते दुईजना बालकलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाण्डौ पठाएको थियो । उनीहरुको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडा मात्रै १६ लाख ५० हजार रुपैयाँ लागेको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताउनुभयो ।

 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको