Chauthoanga - Nepali News Media
संघिय संसद् अधिवेशन आज रातिबाट अन्त्य

काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले चालू तेस्रो अधिवेशन अवधिमा भएका काम कारबाहीको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिमा भएको सहमति अनुसार कार्यसूचीमा रहेका एकदेखि सातसम्मका कार्यक्रम हटाइएको जानकारी गराउँदै चालू तेस्रो अधिवेशन अवधिमा भएका काम कारबाहीको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको हो ।

सभामुख घिमिरेले २०८० माघ २२ गते प्रारम्भ भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशन २०८१ साल वैशाख २ गतेसम्म जम्मा ७० दिन चालु रहेको र त्यस अवधिमा २३ पटक बसेको बैठकमा ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाहीमा व्यतीत भएको जानकारी दिनुभयो ।

चालू तेस्रो अधिवेशन अवधिमा भएका काम कारबाहीको संक्षिप्त विवरण प्रस्तुत गर्नुअघि सभामुख घिमिरेले बैठकमा अनुपस्थित हुने सदस्यहरूको अनुपस्थितिको सूचना र राष्ट्रपतिबाट प्राप्त भएको संसद् अधिवेशन अन्त्य सम्बन्धि पत्र पढेर सुनाउनु भएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमै विपक्षी दलहरू कांग्रेस र राप्रपाका सांसदहरू आसनबाट उभिएर बैठक अवरुद्ध गर्नुभएको थियो ।

बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिको बैठकमा भएको सहमतिबारे जानकारी गराउँदै गलत परिपाटीको विकास गर्ने गरी बैठक अवरुद्ध नगर्न आग्रह गर्नुभएको थियो ।

त्यस लगत्तै सभामुख घिमिरेले कार्यव्यवस्था समितिमा भएको सहमति अनुसार बैठकको कार्यसूचीमा रहेका एकदेखि सातसम्मका कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी गराउनुभएको थियो ।

आजको बैठकको एकदेखि सातसम्मको कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिने कार्यसूची राखिएको थियो ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०” पेश गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८०” पेश गर्ने कार्यसूची रहेको थियो ।

यसैगरी “सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने र “संघीय निजामती सेवा विधेयक, २०८० र “विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको