Chauthoanga - Nepali News Media
रेडियोलोजिष्ट नयाँ थपिएपछि प्रतिष्ठानमा सिटि स्क्यानको रिपोर्ट दिनेमा छिटोछरीतो, ८ हजार बढिले सिटिस्क्यान सेवा

दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो पटक रेडियोलोजिष्ट थप भएपछि सिटि स्क्यानको रिपोर्ट समयमा नै आउन थालेको छ । हाल दैनिक २० जना विरामीको सिटि स्क्यान हुँदै आएको छ । यसअघि जनशक्तिको अभावमा सिटी स्क्यान भएपनि रिपोर्ट आउन ढिला हुने गरेको जन गुनासो आएपछि प्रतिष्ठानले त्यसलाई सुधार गर्दै लगेको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले सिटी स्क्यान, एमआरआइको रिपोर्ट समयमै आउने गरी जनशक्ती ब्यवस्थापनलाई थप जोड दिईएको बताउनु भयो । प्रतिष्ठानमा भिडियो एक्सरे गर्न भिडभाड भएपछि एउटै जनशक्तिले एमआरआई र सिटी स्क्यानको रिपोर्ट दिन ढिलाई हुने गरेकोमा पछिल्लो पटक रेडियोलोजि विभागमा नयाँ रेडियोलोजिष्ट थपिएपछि सेवा अझै ब्यवस्थित बन्दै गएको छ ।

यसैगरेर प्रतिष्ठानमा औषधि लिनका लागी भिड हुँदै आएपछि थप काउन्टर थप्ने तयारी भइरहेको छ भने नाम लेखाउन र विलिङ काउन्टर पनि अतिरीक्त थप्ने कार्यलाई तिव्रता दिईएको छ । प्रतिष्ठानमा सबैभन्दा ठुलो क्षमताको १ सय २८ स्लाइसको सिटि स्क्यान मेसिन रहेको छ । प्रतिष्ठानका मेडिकल इमेजिङ टेक्नोलोजिष्ट सन्दीप गौतमले हालसम्म ८ हजार जना बढि विरामीको सिटि स्क्यान गरीएको जानकारी दिनु भयो ।

उहाँले टाउकोको सिटि स्क्यान गरीएका विरामीलाई अहिले सम्भव भएसम्म सोही दिन र नभए अर्को दिनसम्म रिपोर्ट दिने ब्यवस्था मिलाईएको जानकारी दिदै अन्य विरामिको हकमा सिटि स्क्यान गरेको चार दिनसम्म रिपोर्ट दिन सकीने बताउनु भयो । अझै प्रतिष्ठानमा नयाँ रेडियोलोजिष्ट थपिए सिटि स्क्यान र एमआरआई मेसिनको रिपोर्ट छिटोछरीतोरुपमा निकालेर विरामिलाई दिन सकीने बताए ।

प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले २०७७ साल पौषदेखी २०८१ बैशाख मसान्तसम्म ८ हजार ४ सय ७६ जना विरामीले सिटि स्क्यानको सेवा प्राप्त गरेको जानकारी दिनु भयो । त्यस्तै सुचना अधिकारी भट्टराइले दिएका जानकारी अनुसार २०७९ कार्तिक देखी २०८१ बैशाख मसान्तसम्म २ सय ८६ जना विरामीले एमआरआई सेवा प्राप्त गरेका छन् ।

प्रतिष्ठानमा एमआरआई र सिटि स्क्यानको सेवाले उपचारमा आउने विरामीको रोगको डाइग्नोसिस गर्न सहयोग पुर्याएको र साना देखी ठुला अप्रेसन गर्न सहजता थपिएको प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले बताउनु भयो ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको