Chauthoanga - Nepali News Media
पाँच दलको बैठक आज बस्दै

काठमाडौँ - सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनको बैठक  आज सोमबार बस्ने भएको छ । ।आइतबार बसेको बैठकमा पनि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गर्नुभयो । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको विषय आइतबार पनि नटुङ्गिएको र त्यसका लागि सोमबार फेरि बैठक बस्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिट बाँडफाँट कार्यदलले दिएको प्रतिवेदन र शीर्ष नेताहरूबीचको छलफलका आधारमा केही सिटबाहेक सबै क्षेत्रमा सिट बाँडफाँटमा सहमति जुटिसकेको छ । चाँडै निर्णयमा पुग्नेगरी छलफल भइरहेको छ ।”

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, सिट बाँडफाँट कार्यदलका संयोजक एवं काँग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलासहित पाँच दलका नेताहरू निरन्तर छलफलमा हुनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  ०७:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको