Chauthoanga - Nepali News Media
विकास र समृद्धि हाम्रो मुख्य एजेन्डा : अध्यक्ष प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको देशको प्रमुख एजेन्डा विकास, निर्माण र समृद्धि हुने दाबी गर्नुभएको छ । 

आज आइतवार काठमाण्डौमा आयोजित काठमाण्डौ क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीयरूपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘विकास निर्माण र समृद्धि नै अब हाम्रो मुख्य एजेन्डा हुनेछ । हामीले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिँदैन । स्थायित्व पनि नआउने र देश जहिले पनि निरङ्कुशता र अराजकताको भुमरीमा फस्ने कुरा रही नै राख्छ ।’

अध्यक्ष प्रचण्डले आउँदो चुनावमा काठमाण्डौ क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवारदलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदातालाई आग्रह गर्नुभयो । 

कार्यक्रममा बोल्दै उहाँले माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व केपी ओलीले गरेको भए देशमा सङ्घीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदे सम्झौता हुन नसक्ने दाबी गर्नुभयो । उहाँले नेकपा एमाले अध्यक्ष ओलीलाई जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाउनुभयो । 

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र माओवादी केन्द्रले धेरै पहिलादेखि नै हँसिया हथौडा र रुखलाई एक बनाइसकेको भन्दै आउँदो चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताए काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर २ बाट एउटा विकासे मन्त्री बनाउने प्रतिबद्धता जनाउनुभयो । 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको