Chauthoanga - Nepali News Media
पालिका तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने प्रधानमन्त्री देउवाको भनाई

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले पालिका तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताउनु भएको छ । 

प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि पालिका तहको काम कारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्ने प्रष्टयाउनु भएको हो । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधानले पालिका तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले त्यही अनुसारको काम हुनुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य देशहरुमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा समेत गर्नुभयो । उहाँले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रुपमा आफूलाई अघि बढाएको बताउनु भयो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरुको संरक्षण र सम्वर्द्धनको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढन थप क्रियाशील हुन आग्रह गर्नुभयो ।

भौतिक पूर्वाधारहरुको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि पालिका तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उहाँको भनाई थियो ।

 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको