Chauthoanga - Nepali News Media
अब जन्मदर्तामै दलितहरुले आफ्नो थर परिवर्तन गर्न पाइने
दलित थर परिवर्तन गर्ने सम्बन्धमा

काठमाडौं - राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दलित थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ । नागरिकता, जन्मदर्ता जस्ता कागजातमा लेखिएका दलित थर परिवर्तन गर्न खोज्दा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले नमिल्ने बताएपछि विभागले थर परिवर्तन गर्न पाउने निर्णय गरेको हो ।

विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालका अनुसार राष्ट्रिय दलित आयोगले सूचिकृत गरेका थर राख्न र परिवर्तन गर्न पाउनेगरी विभागले निर्णय गरेको हो ।
निर्देशक ढकालले भन्नुभयो, ‘स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा थर परिवर्तनको निवेदन आए पनि परिवर्तन नहुने समस्या देखियो । त्यसैले हामीले दलित आयोगले बनाएको सूचि अनुसार थर परिवर्तन गराउनु भनेर निर्देशन दिएका हौं ।’

राष्ट्रिय दलित आयोगले दलितका २५ वटा जाति अन्तर्गत पर्ने थरको सूचि बनाएको छ । विभागका अनुसार थर परिवर्तन गर्न चाहानेले आयोगले बनाएको सूचिभित्र रहेका थर परिवर्तन गर्न पाउनेछन् ।

विभागका निर्देशकले भन्नुभयो , ‘विश्वकर्मा जाति हो, यहाँ भित्र अनेक थर छन् । परियार पनि जाति हो त्यहाँभित्र अनेक थर छन् । आफूलाई असहज लागेको, अपमानित महसुस भएमा सम्बन्धित व्यक्तिले आफ्नो जाति भित्रको थर राख्न पाउँछन् ।’

सरकारले २०५२ सालदेखि नै दलितले सम्मानजनक थर राख्न र परिवर्तन गर्न पाउने निर्णय गर्दै आएको छ । ०६३ र ०६८ मा पनि सरकारले दलितले नागरिकता, जन्मदर्ता प्रमाणपत्रमा थर पविर्तन गर्न पाउने निर्णय गरेको थियो ।

सरकारले पहिले नै गरेको निर्णय सहज रुपमा लागु गराउन विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको बताएको छ ।

विभागले यसपटक नागरिकतामा मात्र नभई जन्मदर्ताको प्रमाणपत्रमा पनि थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ । विभागका निर्देशक ढकालले भन्नुभयो, ‘नागरिकतामा मात्र सच्याएर सबै समस्या समाधान नहुने देखिएपछि हामीले यसपटक जन्मदर्तामा पनि सच्याउन पाउने निर्णय गरेका हौं ।’

हेर्नुहोस् दलित जातिय अनुसूची विवरण

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको