Chauthoanga - Nepali News Media
पोखरामा यतिको विमान दुर्घटना : २० जनाको शव निकालियो

काठमाडौँ — पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।

पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो। हाल उद्धार कार्य भइरहेको र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । विमानको अवस्था र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो । पोखरा अन्तर्राष्टिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ ।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान थियो । पुस ७ गते क्याप्टेन कमल केसीसहितको चालक दलले यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको विमान दुर्घटना भएको यो पहिलो घटना पनि हो ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको