Chauthoanga
राष्ट्रिय सभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा


काठमाडौं- राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहीन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मङ्गलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहीन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताउनुभयो । उहाँले यस्तो गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै सम्बन्धित निकायले औषधिको चेकजाँच गर्नुपर्ने औंल्याउनुभयो । गुणस्तरहीन औषधिलाई विक्री वितरण रोक्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘अहिले बजारमा गुणस्तरहीन औषधि उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने कुरा सुन्नमा आइरहेको छ । यो खालको गतिविधिले आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा सम्बन्धित निकायले औषधिको चेकजाँच गर्ने, यस्ता खालका औषधिलाई बिक्री वितरणमा रोक लगाउनेतर्फ आवश्यक पहलका लागि ध्यानाकर्षण गर्न चाहन्छु ।’’

राष्ट्रिय सभा सदस्य गङ्गाकुमारी बेलबासेले महिला र बालबालिकामाथि नराम्रो व्यवहारका घटना भइराखेको भन्दै उनीहरुमा सुरक्षा जोखिम बढेको बताउनुभयो । उहाँले महिला र बालबालिकाको शान्तिसुरक्षामा ध्यान दिन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘महिला र बालकालिकामाथि नराम्रो व्यवहार भएका घटनाहरु भइराखेका छन् । सुरक्षाको जोखिम बढिराखेको हो कि भन्ने देखिएको छ । शान्तिसुरक्षाको व्यवस्था कायम गरियोस् भन्ने माग गर्न चाहन्छु ।’’

राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको समस्या बल्झिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले समन्वय गरेर बञ्चरेडाँडामा जुन फोहोरको व्यवस्थापन गरेको थियो । यो समस्या फेरि बल्झिने समस्या आइरहेको छ । त्यसकारण बेलैमा यसतर्फ सोचियोस् र हिजोजस्तो जनता र सुरक्षाकर्मीबीच झडप नहोस् ।’’

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सरकारी अस्पतालको स्तराेन्नति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आम नागरिकले सरकारी अस्पतालमा बेड पाउन नसक्ने भन्दै यसलाई सहज गराउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकारी अस्पतालमा बेड पाउन सकिएन । प्राइभेट अस्पतालमा उपचार गर्ने आर्थिक हैसियत छैन  भन्ने समस्या छ । सरकारी अस्पतालमा वर्षौंदेखि स्तरोन्नति हुन सकेको छैन । बेड उपलब्ध हुन सक्दैन । सस्तो, सुलभ र सहज रुपले देशले उपचार गर्नसक्छ भनेर एउटा गरिबले महसुस कहिले गर्ने ? राज्यले यस विषयमा सोच्नु जरुरी छ । राज्यको ध्यान जाओस् ।’’

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रस्तुत भएका विधेयकहरु निष्क्रिय हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले नदिने गरेको भन्दै यसको जवाफ दिन मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘यहाँका विधेयकहरु निष्क्रिय हुन्छन् । जिरोमा जान्छन् । यसको मान्यता कमजोर छ । राष्ट्रिय सभामा उठाएका जवाफहरु मन्त्रीहरुले दिनुपर्दैन । जनतासँग यसको सरोकार रहँदैन । यस्ताे कुरा के हो मन्त्रीहरुले जवाफ दिनुपर्छ ।’’

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले देशभर शीतलहर चलेका कारण जनजीवन प्रभावित भएको भन्दै गरिब, निमुखा र ज्येष्ठ नागरिकलाई न्यानो कपडा राहतका रुपमा दिन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले देशैभर शीतलहर चलिरहेको छ । यस जाडोमा गरिब, निमुखा, ज्येष्ठ नागरिक, बालबच्चाहरु अत्यन्तै पीडित छन् । तिनीहरुलाई खाना, न्यानो लुगा कपडाको राहत दिन अध्यक्षज्यूमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’

राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले घुस रकमसहित पक्राउ परेका त्रिभुवन विमानस्थलका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘त्रिभुवन विमानस्थलमा भर्खरै कर्मचारीले आठ लाख र केही रक्सीका बोतलसहित पक्राउ परेको कुरा समाचारमा आइराखेको छ । यस्ता भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्न चाहन्छु ।’’

राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको