Chauthoanga - Nepali News Media
उपराष्ट्रपति निर्वाचन : प्रमिला कुमारीको उम्मेदवारी फिर्ता
जनता समाजवादी पार्टी (जसपा) सांसद प्रमिला कुमारी ।

काठमाडौं- उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार दिनुभएको जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

सांसद प्रमिलाले पार्टीकै नेता रामसहाय प्रसाद यादवलाई समर्थन गर्नुहुँदै आफ्नो उम्मेदवारी फिर्ताको स्वघोषणा गर्नुभएको हो । तर उम्मेदवारको अन्तिम नामावली सूचीमा उहाँको नाम प्रकाशित भइसकेको छ ।

सांसद प्रमिलाले भन्नुभएको छ, ‘‘गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुभएका पूर्वमन्त्री जसपा, नेपाल केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादव नेपालको निरङ्कुश शासन प्रणालीका विरुद्ध लोकतन्त्र स्थापनका लागि त्याग र सङ्घर्ष गर्नुभएको अग्रज नेता हुनुहुन्छ ।’’

सांसद प्रमिलाले यादव राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक रूपले समाजको अग्रगामी रूपान्तरण र परिवर्तनको सङ्घर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेश जनविद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक–पटक भएका विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै आफूपछि हटेको प्रेस विज्ञप्ति जानकारी दिनुभयो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता, समावेशिता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक सधैँ समर्पित रहने शालीन स्वभावका, सादा जीवन, निष्कलङ्क एवम् स्वच्छ छवि र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता रामसहाय प्रसाद यादव, उप–राष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ । प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिबद्धताका साथ म उहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’’

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको