Chauthoanga - Nepali News Media
नेपाल आर्थिक सङ्कट बढाउने खालका कुनै पनि ऋणको पासोमा पर्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डाै - उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकार चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताउनु भएको छ । आज काठमाण्डौमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनु भएकाे हाे । 

यस परियोजनाको कार्यान्वयनमा केही ढिलाइ भएको स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भयाे । उहाँले याे परियोजनाको सफल र शीघ्र कार्यान्वयन नेपालको हितमा रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले याे परियोजना अन्तर्गत नेपालले ठूला पूर्वाधारको विकासमा सहयोग र सहकार्यको अपेक्षा गरेको पनि बताउनु भयाे। यसका लागि विभिन्न मोडालिटीका विषयमा दुईदेशबीच छलफल भइरहेको स्मरण गराउँदै उहाँले नेपालले त्यसलाईं ठोस निष्कर्षमा पुर्याउन चाहेको समेत बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘नेपाल सरकार बीआरआईको सफल कार्यान्वयनमा ढृढ रहेको छ । अझ नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको नेतृत्वको हिसाबले बीआरआईको सफल र शीघ्र कार्यान्वयन नेपालको हितमा रहेको आत्मासात गर्दै त्यस अन्तर्गतको कार्यक्रम र परियोजनाहरुलाई सरकारको तर्फबाट सहयोग र सहजीकरण गरिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । ठूला पूर्वाधारको विकासमा बीआरआई अन्तर्गत सहयोग र सहकार्यको अपेक्षा पनि नेपाल सरकारले गरेको छ।’

श्रेष्ठले नेपाल चिनियाँ ऋणको पासोमा परेको भन्ने भ्रमात्मक प्रचारबाट प्रभावित नभएको स्पष्टीकरण दिनुभयो । उहाँले चीनबाट नेपालको ठूला पूर्वाधार निर्माणमा देखिएको आर्थिक अभाव पूरा हुने अपेक्षा गरिएको बताउनु भयो । देशको विकासमा प्रतिकूल असर पर्ने वा आर्थिक सङ्कट बढाउने कुनै पनि ऋणको पासोमा नेपाल नपर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भयाे । 

उहाँले भन्नुभयो, ‘पूर्वाधार निर्माणमा नेपालमा अहिले रहेका फाइनान्सियल ग्याप पूरा गर्न छिमेकी चीनको भूमिकाप्रति हामी आशावादी छौँ । चिनियाँ ऋणको पासोमा पर्न लागेको भन्ने चर्चाका सन्दर्भमा पनि हामी स्पष्ट नै छौँ । हामी  नेपालको विकासलाई प्रतिकूल असर पार्ने वा आर्थिक सङ्कट बढाउने कुनै पनि ऋणको पासोमा पर्न चाहने छैनौँ, पर्ने छैनौँ । र, साथसाथै यस प्रकारको कुनै भ्रमात्मक प्रचारबाट पनि हामी प्रभावित हुने छैनौँ ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपालप्रति चीनले व्यक्त गरेको सद्भाव र हाम्रो भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताप्रति चीनले गरेको सम्मानले दुईदेशबीचको सम्बन्ध सुमधुर रहेको पुष्टि गरेको उहाँको भनाइ थियो । 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको