Chauthoanga - Nepali News Media
सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

ललितपुर - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रजातन्त्रको सुदृढीकरण र जनसमुदायमा लोकतान्त्रिक चेतनाको विकासमा सामुदायिक रेडियोले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ । 

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) २५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणमा नेपालका सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

संविधान र लोकतन्त्रमाथि गरिएका प्रहारको विरुद्ध र लोकतान्त्रिक प्रणालीको विकासमा रेडियोको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भाषिक र सांस्कृतिक विविधताको संरक्षण र संवर्द्धनमा समेत रेडियोको पहलकदमी स्मरणीय रहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गर्दै सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँचमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेकोसमेत स्पष्ट पार्नुभयो । 

उहाँले सबै प्रकारका सञ्चारमाध्यम र पत्रकारको भौतिक एवम् पेशागत सुरक्षा र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले युवा पुस्तामा आशाको सञ्चार गर्न समयको महत्त्वलाई बुझ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

उहाँले देशमा युवा पुस्ता अहिले सबैभन्दा धेरै आत्तिएको अवस्थामा रहेको बताउँदै युवामा आशा जगाउने अवस्था बनाउन सामुदायिक रेडियोहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा रेडियो क्षेत्रका विज्ञ, विदेशी पाहुना, देशभरिका रेडियो प्रतिनिधि, सामुदायिक रेडियो प्रसारक, रेडियोकर्मीहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको